शुक्रबार, चैत्र २१, २०७६
    राज्य-समाज

    संसदमा सरकारको चर्को आलोचना, प्रधानमन्त्रीको राजीनामा माग

    मंगलवार, १३ फागुन २०७६, आहाखबर

    काठमाण्डाै, १२ फागुन

    मंगलबार बसेको संसद बैठकमा सरकारको चर्को आलोचना भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विना भेदभाव भ्रष्टाचारीलाई कारवाही गर्ने सम्बन्धमा संसदलाई आश्वस्त तुल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ । 

    सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारले गरेको बाचा र कार्यशैलीमा भिन्नता देखिएको भन्दै भ्रष्टाचार गर्दिनँ र हुनदिन्नँ भन्नेमा प्रधामन्त्रीले संसदलाई आश्वस्त तुल्याउनुपर्ने धारणा राखेका हुन् । प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्ने, संविधान र लोकतन्त्रलाई खतरा पुग्ने काम नर्गेमा संसदलाई आश्वस्त गराउने विश्वासका साथ संसद सुचारु गराउन प्रतिपक्षी दल तयार रहेको पनि उल्लेख गरे । 

    कांग्रेसले सेक्युरिटी प्रेस कमिसन प्रकरणका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बरखास्त गरेर भ्रष्टाचारको अभियोगमा कारवाही अघि चलाउन माग गर्दै फागुन ८ गतेको संसद अवरुद्ध गरेको थियो । प्रधानमन्त्रीले संसदमा आएर मन्त्री बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको भनिएको भिडियो सामाग्री र बाँस्कोटालाई कारवाही गर्ने प्रतिवद्धता गर्नुपर्ने माग गरेको थियो ।

    कम्युनिष्ट सरकार अनि जनताको प्रधानमन्त्रीले राजधानीबाट केक लगेर तामझाम गरेको देख्दा सर्वसाधारण जनताले अपमानित महसुस गरेको उनले बताए । 

    यस्तै कांग्रेसका अर्का सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । 

    सांसद थापाले नेपाल कम्युनिष्ट पार्टी र देशको हितका लागि राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरे । थापाले प्रधानमन्त्री बन्ने संख्या संसदमा भएपनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामा दिन आग्रह गरे । 

    उनले नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाइँ स्वास्थ्य लाभ गर्न जान प्रधानमन्त्रीलाई आग्रह गरे । 

    थापाले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा र विजय मिश्रबीचको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिना अघि नै प्रधानमन्त्रीले सुनेको दावी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन हिम्मत छ की छैन ? भन्दै प्रश्न गरे ।  नेकपाका कार्यकर्ताहरुले प्रधानमन्त्रीको विषयमा र भ्रष्टाचारको विषयमा ठूलो स्वरले बोल्न नसकेपनि आफुहरुसँग कानेखुसी गर्दै गुनासो गर्ने गरेको थापाले बताए । 

    एमसीसी प्रकरणमा पार्टीका खाँटी राष्ट्रवादीहरुले प्रधानमन्त्रीलाई तह लगाएको भन्दै थापाले एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको प्रस्ताव ल्याउने कुरामा कसरी कमजोर देखिनुभयो भन्दै थापाले प्रश्न गरे । 

    त्यसैगरी, सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडी बढ्न नसक्ने बताइन् ।  सांसद गिरीले पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव दिइन् ।  सांसद गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोप समेत लगाइन् ।  नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने भन्दै उनले प्रश्न गरिन् । 

    बास्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खवरहरु सार्वजनिक भएको प्रसंगमा उनले बास्कोटामाथि छानबिन गर्न हो की बचाउन छापा मारेको भन्दै प्रश्न गरिन् ।  हुवाई देखि लिएर यति होल्डिङसम्म सरकार अड्केको दाबी गर्दै गिरीले यो विषयमा प्रधानमन्त्रीले जिम्मेवारी लिँदै जवाफ दिनुपर्ने बताइन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast