शुक्रबार, चैत्र २१, २०७६
    राज्य-समाज

    वामदेव प्रकरणले नेकपा नै विभाजित हुनसक्ने चेतावनी

    सोमबार, १२ फागुन २०७६, आहाखबर

    काठमाडौं, फागुन १२ 

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक शक्ति सन्तुलन मिलाउनका लागि वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने तयारी भएको छ ।

    संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने सर्त पूरा हुने भएपछि गौतम राष्ट्रियसभा सदस्य बन्न खुट्टा उचाल्न थालेका छन् ।

    विश्लेषकहरुले यो प्रकरणलाई निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनिर्वाचित व्यक्तिबाट हुने ‘कू’को पूर्वाभ्यास भएको टिप्पणी गर्छन् ।

    २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर–१ बाट पराजित भएपछि नेकपा नेता वामदेव गौतममा छटपटी देखिन थालेको हो । उनी निरन्तर सत्तामा पुगेर शक्ति आर्जन गर्ने खेलमा लागिरहेका छन् ।

    निर्वाचित सांसदलाई राजीनामा गर्न लगाएर चुनाव लड्नेदेखि राष्ट्रियसभा सदस्यमा मनोनीत भइ प्रधानमन्त्री पदमा पुग्ने संवैधानिक छिद्र खोज्ने राजनीतिक गोटी उनले चालिरहे ।

    अहिले गौतमको चाहना पूरा गर्न पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल कस्सिएर लागेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मौन समर्थन छँदैछ ।

    यो प्रकरणले निर्वाचित प्रधानमन्त्रीमाथि अनिर्वाचित व्यक्तिबाट हुने ‘कू’को संकेत गर्दछ ।

    वाम राजनीतिका जानकार प्रा. डा. सुरेन्द्र केसी त वामदेव प्रकरणले नेकपा नै विभाजित हुने विश्लेषण सुनाउँछन् ।

    कुनै समय ओलीका भरपर्दो सहयोगी तथा विश्वासपात्र रहेका गौतम अहिले ओलीविरोधी खेमामा पुगेको चर्चा पनि छ ।

    त्यसको फाइदा उठाउने ध्येयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाललगायत नेताहरु रहेकोमा शंका छैन ।

    अर्का राजनीतिक विश्लेषक जैनेन्द्र जीवन ओलीलाई धम्क्याउने ‘तुरुप कार्ड’को रुपमा वामदेवलाई प्रयोग गर्न खोजिएको ठान्छन् ।

    विगतमा एमाले पार्टी विभाजित गर्ने मूल पात्र गौतम थिए । अहिले पनि वामदेव त्यही प्रयोजनमा प्रयोग हुन लागेको हो कि भन्ने आशंका विश्लेषकहरुको छ ।

    केसीचाहिँ यो सबै नेकपाको शीर्ष नेतृत्वको पदको आशक्तिको परिणाम हो भन्छन् ।

    यसअघि, गौतमका लागि पार्टीको विधान संशोधन भएको थियो, उपाध्यक्ष बनाउन । अहिले गौतमलाई प्रधानमन्त्री बनाउन संविधान नै संशोधन गर्दा नेकपाको आन्तरिक राजनीतिमा झनै उतार–चढाव आउनसक्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast