शुक्रबार, चैत्र २१, २०७६
    धर्म-संस्कृति

    शिवरात्रिमा पशुपति क्षेत्रमा गाडी चलाउन रोक, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

    बिहिवार, ८ फागुन २०७६, आहाखबर

    काठमाडौं, ८ फागुन 

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा भोलि (शुक्रबार) पशुपति क्षेत्रको सडकमा गाडी चलाउन रोक लगाएको छ ।

    महाशाखाले उक्त दिन वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको चाप बढी हुने भएकाले त्यस क्षेत्र भएर यात्रा गर्नेहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरीले आग्रह गरेको हो ।

    पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एवं दर्शनार्थीको सवारी आवागमनलाई सरल, सहज तथा व्यवस्थित बनाउनका लागि योजनाबद्ध ट्राफिक व्यवस्थापन मिलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।

    त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, दुईपाङ्ग्रे र साना सवारीसाधनका लागि तिलगङ्गा र वाइसिएल मार्ग, नक्साल कालो पुल हुँदै आउने गाडीलाई सिफलचौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारी साधनलाई देव उद्यानस्थित कोषको कार्यालय पार्किङको व्यवस्था मिलाइएको छ ।

    यस्तै पास लिएका गाडी, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त गौशाला तथा वाग्मती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

    महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले यातायात सेवा प्रभावित हुने भएकाले गौशाला क्षेत्र भई चल्ने सवारी साधनलाई केही समयको लागि वैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरी आवागमनको व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

    त्यस्तै तिलगङ्गा, गौशाला, मित्रपार्क र चावहिल भई चल्ने मालबाहक सवारी साधनलाई भने तिनकुने, सिनामङ्गल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँ बानेश्वरलगायतका स्थानबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाई वैकल्पिक सडक प्रयोगको व्यवस्था मिलाइने महाशाखाले सूचना जारी गरी जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast