सोमबार, चैत्र २४, २०७६
    राज्य-समाज

    कर्णालीमा ठेकेदारको लापरवाहीका कारण स्वास्थ्यका ९६ भवन अलपत्र

    सोमबार, ५ फागुन २०७६, आहाखबर

    काठमाडाैं ५ फागुन। दैलेखको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रको भवन १७ वर्षदेखि अधुरै छ। २०५९ असोजमा निर्माण थालिएको उक्त भवन ठेकेदारको लापरवाहीका कारण अलपत्र छ। किसान कन्स्ट्रक्सनले ७० लाख लागतमा भवन निर्माणको जिम्मा लिएको थियो। काम सम्पन्न नगरे पनि निर्माण कम्पनीले पूरै भुक्तानी लिएको छ। निर्माणाधीन भवनभित्र झार उम्रिएको छ। भवनका झ्यालढोका फुटेका छन्।

     जाजरकोटको जुनीचाँदे–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माण सात वर्षदेखि अलपत्र छ। फ्राइन्डस कन्स्ट्रक्सन प्रालि काठमाडौंले एक वर्षभित्र काम सक्ने गरी २०६९ मा निर्माणको जिम्मा लिएको थियो। ठेकेदार काम अलपत्र छाडेर सम्पर्कविहीन छ। सुरक्षित प्रसूति सेवा अभावमा त्यहाँका कतिपय गर्भवतीले अकालमा ज्यान गुमाएका छन्।

    ‘निर्माण व्यवसायीलाई गृह मन्त्रालय र स्थानीय प्रशासनले कारबाही गर्न सकेका छैनन्’, स्थानीय राजबहादुर शाहीले भने, ‘एउटा व्यक्तिले काम नगर्दा सबै नागरिकले दुःख पाइरहेका छन्। कामचोर ठेकेदारलाई सरकारले किन कारबाही गर्न सक्दैन ? ’ १ करोड ५० लाख लागतमा निर्माण हुने भवनको काम १० प्रतिशत मात्रै भएको छ।

    कर्णाली प्रदेशमा ठेकेदारको लापरवाहीले झन्डै ९६ वटा स्वास्थ्य संस्था भवन अलपत्र छन्। यी सबै भवन सहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन इकाइ सुर्खेत र जुम्लाबाट ठेक्का भएका हुन्। ताकेता गर्दा पनि ठेकेदारले काम नगरेपछि सुर्खेतको कटकुवा स्वास्थ्य चौकी र जाजरकोटको दल्ली स्वास्थ्य चौकी भवनको ठेक्का रद्द गरी पुनः टेन्डर गरियो।

    घटाघट प्रक्रियाबाट सस्तोमा ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिले कर्णाली प्रदेशमा स्वास्थ्य संस्था भवन निर्माण अधुरै रहेको हो। नियामक निकायको लापरवाहीले पनि कर्णालीमा ठेकेदारको मनपरी छ। अधिकांश ठेकेदारले पेश्की बुझेर भवनको काम अलपत्र छाडेका छन्। तोकिएको मितिभन्दा तेब्बर बढी समयसम्म भवन निर्माण नगर्ने कतिपय ठेकेदार सम्पर्कविहीन रहेको सहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन इकाइ सुर्खेतका सूचना अधिकारी देवेश्वर गिरीले बताए। अन्नपुर्णपाेष्टबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast