सोमबार, चैत्र २४, २०७६
    खेल संसार

    प्रारम्भिक टोलीमा किन परेनन् किरण र रोहित ?

    आईतवार, ४ फागुन २०७६, आहाखबर

    काठमाडौं, ४ फागुन

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०२२ को विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने अष्ट्रेलिया र चाइनिज ताइपेईविरुद्ध खेल्ने नेपाली टोलीको प्रारम्भिक सूची घोषणा गर्दा कप्तान तथा गोलकिपर किरण चेम्जोङको नाम अटाएन । डिफेण्डर रोहित चन्दको नाम पनि परेन ।

    पछिल्लो पटक विश्वकप छनोट अन्तर्गत भुटानमा कुवेतविरुद्ध खेल्दा दुवै खेलाडीले पहिलो रोजाइमै खेलेका थिए । यस्तै विराज महर्जन टिममा पर्न छाडेपछि गोलकिपर किरणले नै नेपालको कप्तानी आर्मब्याण्ड लगाउँदै आएका छन् ।

    त्यसैले किरण टिममा नपर्दा सबैको चासो हुनु स्वाभाविक हो ।

    के उनीहरु फिट नभएर टिममा नपरेका हुन् त ? त्यो पनि पनि होइन ।

    रोहित गत सिजन इन्डोनेसियाको लिग सकेर बिदा मनाउन नेपाल आएका थिए । त्यसबेला जाकार्तासंग उनको अनुबन्ध सकिएको थियो । तर इन्डोनेसियामा नयाँ सिजन चाँडै शुरु हुने र रोहित पनि सम्झौता नवीकरणको प्रकियामा रहेकोले नेपालको कुनै क्लबमा खेलेनन् ।

    दुवै खेलाडी अहिले विदेशमा खेलिरहेका छन् । किरण भारतीय लिग आई लिगमा मिनेर्भा पञ्जाबबाट खेलिरहेका छन् । उनले मिनेर्भाबाट आई लिगसमेत जितिसकेका छन् । उनी दोस्रो पटक पञ्जावी क्लबमा अनुबन्ध भएर खेलिरहेका छन् । अनि रोहितले इन्डोनेसियामा पर्सिजा जाकार्ताबाट इस्ट जाभा कप खेलिरहेका छन् र क्लबले हालै मात्र थप दुई वर्षका लागि अनुबन्ध गरेको छ ।

    विदेशमा व्यवसायिक फुटबल खेलिरहेका कारण दुबैले शनिबार सकिएको नेपालको घरेलु लिग भने खेल्न पाएनन् । त्यसैले अहिले नेपालमै लिग खेलेका खेलाडीलाई मात्र समेटेर प्रारम्भिक टोली घोषणा गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast