सोमबार, चैत्र २४, २०७६
    राज्य-समाज

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले कालापानी क्षेत्रको भ्रमण गर्दै

    आईतवार, ४ फागुन २०७६, आहाखबर

    दार्चुला, ४ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन ४ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन कार्यक्रमपछि उनी कालापानी क्षेत्रको भ्रमणमा जान लागेका हुन् भएको हो ।

    उनी नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला पुग्‍ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलको टोलीमा रक्षा मन्त्रालयका एक सहसचिव र नेपाली सेनाका उच्च अधिकारीको समेत सहभागी हुनेछन्  । 

    दार्चुलास्थित नेपाली सेनाको व्यारेक उनले पहिलोपटक निरीक्षण गर्न लागेका हुन् । नेपाली सेनाको उच्च अधिकारीले भने समयसमयमा व्यारेकको निरीक्षण गर्दै आएका छन् । काठमाडौँबाट आइतबार बिहान उड्ने सेनाको हेलिकप्टर दिपायलस्थित नेपाली सेनाको पृतना हेडक्वाटर भएर दार्चुला आउनेछ ।
        
    भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत् जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ । उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहने जनाइएको छ ।

    उपप्रधान तथा रक्षामन्त्री पोखरेल व्यास क्षेत्रको भ्रमण गर्ने कार्यक्रमसमेत छ । सैनिक अधिकारीसहित व्यास क्षेत्रमा भ्रमण गर्ने भएपछि सुरक्षा सतर्कता  बढाइएको छ । पछिल्लो समय भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्शामा समावेश गरेपछि त्यसको विरोध भएको थियो भने सरकारले पनि भूमि आफ्नो भएको दाबी गरेको थियो ।

    दार्चुलादेखि कालापानीसम्म निर्माण हुने दार्चुला तिङ्कर सडक पछिल्लो समय नेपाली सेनालाई दिने गृहकार्य सुरु भएको छ ।

    अहिले रक्षा मन्त्रालयको अधिकारीसहित भ्रमण गर्ने भएपछि यो सडक नेपाली सेनाले बनाउन सक्छ भन्ने आशा स्थानीयस्तरमा छ । महोत्सवको अवसर पारेर उनले नेपाली सेनाको व्यारेक र कालापानी क्षेत्रमा हेलिकप्टरमार्फत अवलोकन गर्ने भएका छन् । 

    उनको जिल्लाको भ्रमणको क्रममा दार्चुला तिङ्कर सडकलाई नेपाली सेनामार्फत बनाउन पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । उद्योग वाणिज्य सङ्घले चोथौँ पटक जिल्लामा महोत्सव गर्न लागेको हो ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast