बुधबार, चैत्र २६, २०७६
    खेल संसार

    प्रशिक्षक टमाटालाई राष्ट्रिय टोलीको जिम्मेवारी

    बुधबार, २९ माघ २०७६, आहाखबर

    काठमाडौं, २९ माघ

    प्रशिक्षक उमेश पटवालले जिम्मेवारी छाडेसँगै रिक्त रहेको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी पूर्व प्रशिक्षक जगत टमाटाले सम्हाल्ने भएका छन् । भारतीय प्रशिक्षक पटवालले अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज पछि लागु हुनेगरि दुई हप्ताअघि नै राजिनामा दिएका थिए ।

    नयाँ विदेशी प्रशिक्षक नियुक्त नहुन सम्म जगत टमाटाले नै जिम्मेवारी सम्हाल्ने नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले बताएका छन् । उमेश पटवालको राजिनामा केहि दिनमा नै स्वीकृती भएर आधिकारिक रुपमा आउने क्यानले जनाएको छ । पटवालको राजिनामासँगै नेपालको सिनियर प्रशिक्षकको हिसाबमा टमाटाले नै हेर्ने प्याकुरेलले बताए ।

    ‘यसअघि पटवाल १५ दिन भारत बस्दा पनि टमाटाले नै टोली हेर्नुभएको थियो । वहाँ अहिले पनि टोलीमा हुनुहुन्छ । बन्द प्रशिक्षणमा सहायक प्रशिक्षकले पनि साथ दिनेछन् । नयाँ विदेशी प्रशिक्षक नआउँदासम्म उहाँले नै हेर्नुहुनेछ,’ प्याकुरेलले भने । त्यस्तै क्यानले विदेशी प्रशिक्षकको लागि आफ्नो तयारी अघि बढाइसकेको छ । कसलाई ल्याउने भन्नेबारे आन्तरिक गृहकार्य थालेको क्यानले जनाएको छ । यसअघि गत जेठमा पटवाल नियुक्त हुनुअघि सम्म प्रमुख प्रशिक्षकमा टमाटा रहेका थिए ।


    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई गत जेठमा राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त गरेको थियो । उनको सम्झौता अवधि एक वर्ष भएपनि उनले अगाडि नै राजीनामा दिएका थिए । उनको प्रशिक्षणमा नेपाली टोलीले सन्तोषजनक प्रदर्शन भने गर्न सकेको छैन । सिंगापुरमा टि ट्वान्टी विश्वकप छनोटको क्षेत्रिय छनोटबाटै बाहिरिदै नेपालले लज्जास्पदक प्रदर्शन गरेको थियो ।

    टमाटाले सन् २०१५ मा तत्कालिन प्रशिक्षक पुवुदु दासानायकेले छोडेदेखि गत जेठसम्म नेपाली टोलीको प्रमुख प्रशिक्षकको रुपमा काम गरेका थिए । उनले आफ्नो प्रशिक्षकमा नेपाललाई एक दिवसिय विश्वकप छनोट हुँदै पहिलो पटक ऐतिहासिक ओडीआई मान्यता दिलाउन सफल भएका थिए । गत वर्ष यूएईमा भएको तीन ओडीआई र तीन एक दिवसिय ऐतिहासिक सिरिज जित्दा टमाटा प्रमुख प्रशिक्षक थिए ।

    त्यसयता टमाटाले नेपाली राष्ट्रिय महिला टोली हेरेका थिए । टमाटाकै प्रशिक्षकमा महिला टोलीले सागमा कास्य जितेको थियो । टमाटाले अब फागुन तेस्रो सातादेखि थाईल्यान्डमा सुरु हुने एसीसी पुरुष इस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिताको लागि नेपाली टोलीको लागि प्रशिक्षण दिनेछन् । इस्टर्न रिजनको लागि नेपालको १८ सदस्य टोली घोषणा गरिसकेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast