मंगलवार, चैत्र २५, २०७६
    स्वास्थ्य

    चीनबाट स्वदेश ल्याउने तयारी भइरहेका नागरिकको निगरानीमा ६० स्वास्थ्यकर्मी खटाइने

    आईतवार, २६ माघ २०७६, आहाखबर

    काठमाडौं, २६ माघ

    सरकारले चीनबाट ल्याइएका नेपाली नागरिकको स्वास्थ्य अवस्था निगरानी गर्नका लागि ६० जना स्वास्थ्यकर्मी खटाउने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । 

    चीनको हुवाई प्रान्तको हुवान शहरबाट सुरु भएको नोबेल कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिन थालेपछि नेपालले आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने तयारी गरेको छ । स्वदेश फिर्ता गरेका नागरिकहरुलाई ६० जना स्वास्थ्यकर्मीहरुको निगरानीमा राख्ने र उनीहरुलाई  तयारी अवस्थामा राख्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    उनीहरुलाई क्यारेन्टाइनमा  राखेर निगरानी गरिने समेत मन्त्रालयले जनाएको छ । त्यसका लागि ६० जना स्वास्थ्यकर्मीलाई माघ २७ गते (सोमबार) अभिमुखिकरण तालिम दिने तयारी समेत गरिएको छ । ६० जना स्वास्थ्यकर्मीमा मेडिकल अफिसर, स्टाफ नर्स, स्वास्थ्य सहायक लगायत रहने समेत बताइएको छ ।

    ४ दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका खरिपाटी, शिवपुरी, सूर्यविनायक र इचङुनारायणमा चीनबाट ल्याइएकाहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी बढाउन निर्देशन दिएका थिए । ती स्थानमा  स्थानीयवासीको विरोध चर्किन थालेपछि सरकारले कहाँ राख्ने भन्ने निर्णय गरिसकेको छैन । यद्यपि, भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रका २ वटा भवन खाली गरिसकिएको छ भने अन्य स्थानमा व्यवस्थापनको कामनै सुरु भएको छैन ।

    उता, चीनमा अध्ययन गर्न गएका विद्यार्थीका आफन्तजनले आफ्नो परिवारका सदस्यहरुलाई तत्काल स्वदेश फिर्ता गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रियमानवअधिकार आयोग लगायतका सरोकारवाला निकायमा धाइरहेका छन् । उनीहरुले तत्काल आफन्तजनलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरिरहेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast