मंगलवार, चैत्र २५, २०७६
    सार्क

    दिल्ली चुनाव सर्वेक्षण : आम आदमी दंग, कांग्रेस भरंग

    आईतवार, २६ माघ २०७६, आहाखबर

    काठमाडौं, २६ माघ

    ७० सदस्यीय दिल्ली विधानसभा चुनावमा ६७२ उम्मेदवारले भाग लिएका छन् । शनिबार भएको मतदानमा ५९ प्रतिशतले मताधिकार प्रयोग गरे । एक करोड ४८ लाख मतदाताका लागि १३ हजार ७५० मतदान केन्द्र तोकिएको थियो ।

    दिल्लीमा यसपटक कसले बाजी मार्ला त ? सही जवाफ थाहा पाउन मंगलबार हुने मतगणनाको परिणाम कुर्नुको विकल्प छैन ।

    तर निर्वाचनपछि गरिएका विभिन्न मत सर्वेक्षण (एक्जिट पोल) हरूले भने सत्तारुढ आम आद्मी पार्टी (आप) कै पल्ला भारी हुने देखाएका छन् ।

    इन्डिया टुडे–एक्सिस, इन्डिया टिभी, एबीपी, टिभी–९, न्युज–२४, टाइम्स नाउ, न्युज–एक्स, रिपब्लिक र न्युज–एक्स–नेता औसत परिणामले अरविन्द केजरीवालको आपले ५५ स्थानमा विजय हासिल गर्ने देखाएको छ ।

    नौ सर्वेक्षणमध्ये इन्डिया टिभीले ४४ र इन्डिया टुडे–एक्सिसले ६८ सिटसम्म आपले जित्न सक्ने सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ ।

    सबै सर्वेक्षण हेर्दा आपले फेरि पनि सरकार बनाउन आवश्यक बहुमत पु¥याउने देखाएको छ । दिल्लीमा सरकार बनाउन ३६ सिट आवश्यक पर्दछ ।

    २०१५ को निर्वाचनमा ६७ स्थान जितेर आपले अरविन्द केजरीवालको नेतृत्वमा सरकार बनायो । यो सरकारको कार्यकाल २२ फेब्रुअरीमा सकिदैछ ।

    २०१३ को निर्वाचनपछि करिब दुई महिनाका लागि मुख्यमन्त्री बनेका केजरीवालको दोस्रो कार्यकाल सफल रहेको आपको दाबी छ ।

    बिजुली, पानी, स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा गरेको सुधार हेरेर जनताले आफ्नो पार्टीलाई यसपटक पनि मतदाताले जिताउन लागेको केजरीवालको भनाइ छ ।

    भाजपाको सिट बढ्ला ?

    गत वर्ष सम्पन्न लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले दिल्लीको सात वटै क्षेत्रमा जितेको थियो । विधानसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न पनि उसले भरमग्दुर प्रयत्न नगरेको पनि होइन ।

    तर मत सर्वेक्षणले भने यसपटक पनि दिल्ली विधानसभामा भाजपाको दाल गल्ने देखाएको छैन । आपले जित्ने नतिजा निकालेको नौ वटा सर्वेक्षणले यसपटक भाजपाले १४ स्थानमा जित्ने देखाएको छ ।

    इन्डिया टिभीको सर्वेक्षण अनुसार २६ र इन्डिया टुडे–एक्सिस अनुसार २ देखि ११ स्थानमा भाजपाले जित्ने देखिन्छ ।

    २०१३ मा ३१ सिट जितेको भाजपा २०१५ मा जम्मा तीन स्थान खुम्चिएको थियो ।

    कांग्रेस बौरिने सम्भावना कम

    सामाजिक अभियन्ता अन्ना हजारेले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानलाई टेकेर २०१२ मा स्थापना भएको आपले २०१५ मा दिल्लीमा भारी बहुमत सहितको सरकार बनायो । आपको उदयअघि दिल्लीमा भारतीय नेसनल काँग्रेसले लगातार १५ वर्ष एक छत्र शासन गरेको थियो ।

    २००८ मा ४३ सिट जितेको काँग्रेस २०१३ मा ८ र २०१५ मा शून्य सिटमा झर्यो । यसपटकको नौ वटा सर्वेक्षणको औसत नतिजाले काँग्रेसले एक स्थानमा जित्ने देखाएको छ ।

    इन्डिया टुडे–एक्सिस, इन्डिया टिभी, न्युज–एक्स, टाइम्स नाउ र न्युज–२४ को सर्वेक्षणले भने काँग्रेसले यसपटक पनि खाता खोल्न नसक्ने देखाएको छ । यद्यपि चार सिटसम्म काँग्रेसले जित्नसक्ने एबीपीको सर्वेक्षण छ ।

    एक्जिट पोलको नतिजा मिल्छ नै भन्ने चाहिँ होइन । २०१५ मा दिल्ली विधानसभामा डाटामेनेरियाले आपले ३१ र भाजपाले ३५ सिट जित्ने सर्वेक्षण सार्वजनिक भएको थियो । त्यतिबेला आपले ६७ सिट जित्दा भाजपाको भागमा जम्मा ३ सिट पर्‍यो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast