मंगलवार, चैत्र २५, २०७६
    खेल संसार

    घरेलु मैदानमा ओमानसँग नेपाल फेरि पराजित, निराश दर्शक

    आईतवार, २६ माघ २०७६, आहाखबर

    काठमाडौं, २६ माघ

    आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको छ। आइतबार त्रिवि क्रिकेट मैदानमा भएको ओमानसँगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको हो।

    टस हारेर नेपालले पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको थियो । २५० रनको लक्ष्य पाएको ओमानले ४७.२ ओभरमै २ विकेट गुमाउँदै भेट्टायो।

    ओमानका लागि अकिव इलियासले शतक बनाए। उनले नटआउट १०८ रन जोडे। उनको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो। त्यस्तै कप्तान जिशन मक्सूदले नटआउट ६८ रन जोडे भने ओपनर खवार अलीले ४१ र जतिन्दर सिंहले २३ रन जोडे। 

    नेपालका लागि कुशल मल्ल र सुशन भारीले १/१ विकेट लिए।

    यसअघि नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाएका थिए। पारस खड्काले ३८, विनोद भण्डारीले ३५ तथा  कुशल मल्लले २८ रन बनाएका थिए। त्यस्तै ओपनर सुवास खकुरेलले २२ एवम् आरिफ शेखले २८ तथा करण केसीले १० रन जोडे। 

    ओमानका लागि अकिब इलियासले ४ र मोहम्मद नादिनले  नेपालको ३ विकेट लिए। 

    यसअघि ओमानसँगको पहिलो खेलमा नेपाल १८ रनले हारेको थियो। शनिबार भएको खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो । 

    नेपालले अब मंगलबार अमेरिकासँग शृ‌ंखलाको अन्तिम खेल खेल्नेछ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast