बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    ‘किड्नी ट्रान्सप्लान्ट गर्ने हो, तीनवर्ष बेस्सरी सरकार चलाउने हो’

    मंगलवार, २१ माघ २०७६, आहाखबर

    काठमाडौं, २१ माघ

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला छिट्टै ट्रान्सप्लान्ट गर्ने बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न मिडियाका सम्पादकहरुसँग मंगलबार कुराकानी गर्दै यस्तो बताएका हुन् ।

    “मेरो किड्नी चाँडै नै ट्रान्सप्लान्ट गर्ने हो,” प्रधानमन्त्री ओलीले भने, “अनि तीनवर्ष बेस्सरी काम गर्ने हो ।”

    उनले बाँकी तीनवर्ष पनि आफैं प्रधानमन्त्री हुने स्पष्ट पारे ।

    “मैले पहिले पनि भनेको थिएँ,” उनले भने, “आलोपालो भनेर पहिले भनिएको हो । अहिले उहाँ (प्रचण्ड) कै प्रस्तावमा अब म एक्लैले पाँचवर्ष शासन गर्ने भन्ने भएको छ ।”

    प्रधानमन्त्री ओलीले एमसीसी संसद्बाट छिट्टै पारित हुने बताए ।

    उनले पहिले सम्झौता गर्ने अनि पछि छलफल गर्ने नेपालीको बानी नै भएको उल्लेख गर्दै पहिलको सरकारले गरेको सम्झौतामा अहिले आएर आईपीएस भन्ने आरोप लगाइएको बताए ।

    “हामीले हाम्रो स्वार्थ हेर्ने हो,” उनले भने, “पाँचवर्षभित्रमा सबै गरिसक्नुपर्नेछ । नभए सबै फिर्ता जान्छ । त्यसैले संसदबाट पारित गर्न हतार गर्नुपरेको हो ।”

    अमेरिकाले सुशासन, भ्रष्टाचारविरुद्ध र लोकतन्त्रको हितमा प्रयोग गर्ने भनेकाले यसमा डराउनुपर्ने कुनै कारण नभएको उनको टिप्पणी थियो ।

    यती होल्डिङ्स अघिल्लो सरकारले दरबारअघिको जग्गा लिजमा दिएको भए पनि विधि र प्रक्रिया पु¥याएर दिएको प्रधानमन्त्री ओलीको टिप्पणी थियो ।

    “गोकर्णमा पनि कुनै घोटाला भएको छैन,” प्रधानमन्त्री ओलीले भने, “मेरो सम्बन्धमा घोटाला र भ्रष्टाचारको प्रश्न नै उठ्दैन होला भन्ने ठान्छु ।”

    उनले आफ्ना पालामा ठूला भ्रष्टाचारविरुद्धका काम भएको बताए ।

    “कानुनी राजको सिद्धान्तमा मोलाहिजा छैन,” प्रधानमन्त्री ओलीले भने, “ललिता निवास प्रकरणमा छानबिन हुँदैछ । सुन प्रकरणमा दोषी देखिएका कारवाहीको दायरामा आएका छन् ।उच्च ओहदाका व्यक्तिलाई पनि कारवाही गरिएको छ ।”

    उनले सरकार असहिष्णु र स्वतन्त्र प्रेस विरोधी नभएको टिप्पणी गरे ।

    “सरकार असहिष्णु छैन र हुँदैन पनि,” उनले भने, “स्वतन्त्रता यो सरकारले चाहे पनि जाँदैन । यो सरकार आन्दोलन र बलिदानपूर्ण संघर्षको निचोड हो,” उनले भने ।

    प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपालाई बढावा नदिन आग्रह गरे ।

    “विप्लव समूह पैसा लुट्न राजनीतिमा लागेको हो,” उनले भने, “यसलाई बढावा दिन हुँदैन ।”

    उनले सरकारको तर्फबाट स्वतन्त्र प्रेसका विपक्षमा कुनै काम भएको भए सच्याउन तयार रहेको बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast