सोमबार, चैत्र २४, २०७६
    सावधान

    बालिकाको अपहरण गरी हात बाँधेर राखेको अवस्थामा उद्धार

    सोमबार, २० माघ २०७६, आहाखबर

    काठमाडौं, २० माघ । प्रहरीले बालिकाको अपहरण गरी हात बाँधेर राखेको अवस्थामा उद्धार गरेको छ ।

    सूर्यविनायकस्थित ग्लोरी बोर्डिङ स्कुलको युकेजीमा अध्ययन गर्ने ६ वर्षकी गृष्मा राउत (नाम परिवर्तन) लाई अपरिचित व्यक्तिले आइतबार दिउँसो अपहरण गरेको थियो ।

    अपहरणकारीले बालिकाको अपहरण गरिसकेपछि १६ लाख रुपैयाँ परिवारसँग माग गरेको प्रहरीले जनाएको छ । “बालिकालाई घ्याम्पेडाँडामा लगेर पछाडि हात बाँधि राखेको तर बालिका रोइकराइ गरेपछि निज अपहरणकारी घुम्न आउने मानिसले रोएको आवाज सुन्ने डरले भागेको पाइयो,” प्रहरीले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

    त्यसपछि उनीहरुले बालिकालाई अपहरणमुक्त गरेका थिए । सूर्यविवनायक गणेश मन्दिर घुम्न गएका मानिसले जंगलमा रोएको देखेपछि बालिकालाई सोधपुछ गर्दा बालिकाले आफूलाई त्यहाँ ल्याउने व्यक्तिका बारेमा जानकारी गराएकी थिइन् ।

    अपहरणकारीले बालिकालाई बाँधेर राखेर परिवारलाई फोन गरेर फिरौती माग गरेको थियो । मोटरसाइकल राखेर घुम्न निस्किएका अपहरणकारी सर्लाहीका आशिष थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    “अपहरणकारी थापाले अपहरणपछि १६ लाख रुपैयाँ माग गरेको, पैसा ठिमीस्थित भाटभटेनीमा ल्याउन भनेको र पैसा पुर्याउन गएका परिवारसँगै गएका प्रहरीले पक्राउ गरिएको हो,” प्रहरीले भनेको छ । प्रहरीले पाँचघण्टामा अपहरणकारी पक्राउ गरेको जनाएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast