बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    चीनबाट फर्किएकालाई राख्ने स्थानको व्यवस्था गर्नू : प्रधानमन्त्री ओली

    आईतवार, १९ माघ २०७६, आहाखबर

    काठमाडौँ, १९ माघ

    चीनबाट फर्काइने नेपालीलाई राख्ने स्थानको व्यवस्था गर्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका छन्। 

    उनीहरूलाई कहाँ राख्ने, कसरी सम्बोधन गर्ने भन्ने विषयमा बढी केन्द्रित हुन र चीनमा रहेका नेपालीबारे पनि नियमित जानकारी लिन प्रधानमन्त्री ओलीले भनेका हुन्। यसबारे उनले स्वास्थ्य, परराष्ट्र, गृह, रक्षा, पर्यटनलगायत सरोकारवाला मन्त्रालयका मन्त्री एवं सचिवहरूलाई एकै स्थानमा राखेर छलफल गरेका थिए। उनले चीनमा कोरोना भाइरसको महामारी र त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका थिए।

    नेपालीलाई फर्काउन प्रक्रिया सुरु भएपछि प्रधानमन्त्रीले क्वारेन्टाइन चेक, अस्पितालमा राख्न पर्दाको अवस्था तथा उच्च सतर्कताको तयारीलगायत विषयमा चासो देखाएका हुन्। विमानस्थलमा तयारीलगायत विषयमा पनि उनले जानकारी लिँदै सुधार र उच्च सतर्कताका लागि निर्देशन दिए।

    ‘हाम्रो सुरक्षा तयारी र त्यहाँ (चीनमा) रहेका नेपाली नागरिकको अवस्थाबारे प्रधानमन्त्रीले बुझ्नुभयो’, बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, ‘त्यसपछि गर्नुपर्ने तयारीबारे सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ।’

    चीनमा रहेका नेपालीको पीडा थाहा पाएपछि प्रधानमन्त्रीले बैठक राखेका हुन्। चीनबाट नेपालीहरू तत्काल नेपाल फर्किन खोजे पनि यहाँबाट चासो नदिइएको धारणा आएपछि प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीहरूलाई आफ्ना नागरिकप्रति जिम्मेवार रहन निर्देशन दिएका हुन्।

    उनले चीनले सतर्कता अपनाएको भए पनि आफ्ना नागरिकबारे चासो राख्ने निकाय दूतावास हो त्यहाँ रहेको दूतावासले यसमा काम गर्न आवश्यक छ भन्दै परराष्ट्रमन्त्री र सचिवसँग त्यहाँको अवस्था सोधेका थिए। उनले चीनमा परेको संकटप्रति दुःख व्यक्त गर्दै छिटो यसको निदान होस् भन्ने कामना गरे। आफ्ना नागरिकलाई चीनले गरेको रेखदेखप्रति खुसी व्यक्त गर्दै उनले आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्थामा जुट्न पनि निर्देशन दिए।

    उनीहरूलाई स्वदेश ल्याउँदा के गर्नुपर्ने हो र ल्याएर १४ दिनसम्म कहाँ राख्ने त्यो तय गर्न उनले निर्देश गरे। ‘आइसोलेसन’मा राख्नुपर्ने नागरिकका लागि अस्पताल र त्यसअघि क्वारेन्टाइन व्यवस्थामा लाग्न पनि उनले सुझाए। मास्क एप्रोनको तयारी गर्न पनि उनले निर्देशन दिए। उनले चीन सरकारसँग प्रत्यक्ष सम्पर्कमा रही सहकार्यमा काम अघि बढाउनुपर्ने बताएका थिए।

    चीनको हुपे प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काउन प्रक्रिया अघि बढाइएको छ। १ सयभन्दा बढीको आवेदन दूतावासले पाइसकेको छ। विश्व स्वास्थ्य संगठनले बिहीबार कोरोना भाइरसका कारण विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको थियो। त्यसपछि धेरै मुलुकले उहानमा रहेका आफ्ना नागरिकको उद्धार गरेका छन्। 

    शक्ति मुलुकले पहिले नै लगिसके भने कमजोर मुलुकले पनि लगिरहेका छन्। नेपालबाट भने उद्धारमा ढिलाइ हुँदा चीनमा रहेका नेपाली अत्तालिएका हुन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast