बुधबार, चैत्र २६, २०७६
    स्कुल-कलेज

    शिक्षक प्रविधिमैत्री हुनुपर्छः अध्यक्ष तिमिल्सिना

    बिहिवार, १६ माघ २०७६, आहाखबर

    दमौली, १६ माघ

    राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निजी र सरकारी विद्यालयबीचको गुणस्तरताको खाडल अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । 

    विदेशी सहयोगमा निर्माण भएको तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालय भवनको आज उद्घाटन गर्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले राज्यको लगानी रहेको सरकारी विद्यालयमै शिक्षाको गुणस्तर कमजोर हुनु दुःखद रहेको बताउनुभयो ।

    “निजी विद्यालयमा सरकारको लगानी छैन, तर निजी विद्यालयमा नै शिक्षाको गुणस्तर राम्रो छ,” उहाँले भन्नुभयो, “सरकारको लगानी रहेको सरकारी विद्यालयमा शिक्षाको गुणस्तर किन कमजोर छ, त्यसतर्फ गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।” अध्यक्ष तिमिल्सिनाले सरकारी विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । 

    सरकारी विद्यालयमा अभिभावकको चासो कम रहने गरेको बताउँदै उहाँले अभिभावकको चासोले मात्रै शिक्षाको गुणस्तर सुधार गर्न सकिने धारणा व्यक्त गर्नुभयो । “निजी बोर्डिङमा पढाउने अभिभावकले बालबालिकाको ध्यान दिने गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “सरकारी विद्यालयमा पढाउने अभिभावकले भने बालबालिकाले कस्तो शिक्षा लिइरहेका छन् भन्नेतर्फ चासो राखेको पाइँदैन, जसले सरकारी विद्यालयको गुणस्तर खस्किरहेको छ ।”

    अध्यक्ष तिमिल्सिनाले अबको युग प्रविधिको भएकाले शिक्षकहरु पनि प्रविधिमैत्री बन्नुपर्ने उल्लेख गर्दै परम्परागत ढर्राबाट सञ्चालन गरिने शिक्षण सिकाइ प्रभावकारी नहुने भएकाले शिक्षकहरुले प्रविधिको प्रयोग गरी नयाँ ढङ्गबाट पठनपाठन सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

    देश बनाउन सबै जनता आ–आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिँदै उहाँले नेताहरुले मात्रै देश बनाउनुपर्छ भन्ने भावना त्याग्न आग्रह गर्नुभयो ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले शिक्षाको चिन्ता नगर्ने शिक्षकले गुणस्तरीय शिक्षा दिन नसक्ने उल्लेख गर्दै शिक्षकहरु शिक्षाप्रति उत्तरदायी बन्नुपर्ने बताउनुभयो । अभिभावक र शिक्षकबीचको तालमेलले मात्रै विद्यालय र शिक्षाको विकास सम्भव रहेको बताउँदै उहाँले शिक्षाको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

    विद्यालय निर्माणमा सहयोग पु¥याएको चिल्ड्रेन अफ माउण्टेनका संस्थापक अध्यक्ष जोनले नेपालको शैक्षिक क्षेत्रमा संस्थाको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । नेपालमा काम शुरु गरेको दश वर्षको अवधिमा संस्थाले १३ वटा विद्यालय भवन निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।

    चिल्ड्रेन अफ माउण्टेनको रु ७० लाख र बन्दीपुर गाउँपालिकाको रु तीन लाख गरी कूल रु ७३ लाखको लागतमा पाँच कोठे भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरसिं थापाले जानकारी दिनुभयो । भूकम्पले क्षति पुगेपछि विसं २०७५ माघ १ गतेबाट विद्यालयको नयाँ भवन निर्माण शुरु भएको थियो ।

    बालविकासदेखि कक्षा ५ सम्म अध्यापन हुने उक्त विद्यालयाम ४७ विद्यार्थी छन् । कूल विद्यार्थीमध्ये ७५ प्रतिशत दलित समुदायका विद्यार्थी रहेको प्रधानाध्यापक रामजीबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयलाई अझै पनि भवन अपुग रहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast