मंगलवार, चैत्र २५, २०७६
    स्वास्थ्य

    नेपालमा थप २ जनामा देखियो कोरोना भाइरसको संक्रमण, परीक्षणका लागि ‘स्याम्पल’ हङकङ पठाइयो

    आईतवार, १२ माघ २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौँ, १२ माघ 

    नेपालमा २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनबाट स्वदेश फर्किएका थप दुई जनामा कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ ।

    अस्पताल स्रोतका अनुसार कोरोना संक्रमणको आशंकामा उपचाररत दुई जनामध्ये एक जना पुरुष र अर्को एक जना महिला छन् ।  ‘एक जना ४८ वर्षीया महिला र २८ वर्षका एक जना पुरुषमा कोरोना भाइरसको आशंकामा उपचार भइरहेको छ’ श्रोतले भन्यो । उनीहरुको टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार भइरहेको छ ।

    ४८ वर्षीया महिला चीन आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किएकी थिइन् । उनी माघ ११ गते(हिजो) टेकु अस्पताल पुगेकी थिइन् भने २८ वर्षीय पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका थिए । उनी माघ १० गते अस्पताल पुगेका थिए ।

    दुबै जनामा ज्वरो आउने, स्वास फेर्न गारो हुने लगायतका समस्या देखिएको छ । ‘चीनबाट आएका दुबै महिला र पुरुषमा ज्वरो आउने, स्वास फेर्न गारो हुने, खोकी लाग्ने लगायतका समस्या देखिएको छ,’ अस्पताल श्रोतले भन्यो,‘प्रारम्भिक अवस्थालाई हेर्दा उनीहरुमा कोरोना संक्रमण भएको हो कि भन्ने आशंका रहेको छ ।’

    उनीहरुको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको र रिपोर्ट आएपछि मात्र पूर्ण रुपमा कोरोना संक्रमणबारे एकिन हुने स्रोतको भनाइ छ ।

    यसअघि एक जनामा कोरोनाको संक्रमण देखिएको भन्दै गरिएको परीक्षणबाट पुष्टि भएको थियो । चीनबाट नेपाल फर्किएका एक युवामा कोरोनाको आशंकामा ‘स्याम्पल’ परीक्षणका लागि हङकङ पठाइएकोमा उनमा कोरोनाको संक्रमण रहेको पुष्टी भएको थियो । उनको अहिले अवस्था सामान्य रहेको र टेकु अस्पतालको नियमित सम्पर्कमा रहेको चिकित्सकहरुले बताएका छन् ।

    चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ जनाको ज्यान गइसकेको छ ।कोरोना फ्रान्स अस्ट्रेलिया, कोरिया, अमेरिका, भारत, हङकङ लगायत १३ देशमा देखा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोना भाइरसबाट २ हजार भन्दा धेरै मानिस संक्रमित भएको जनाइएको छ ।

     

    कोरोना भाइरस के हो ? 

    कोरोना भाइसरको वास्तविका नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

    कोरोना भाइरस पशुपंक्षी तथा सी फुडको माध्यमबाट सर्ने गर्छ । तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

     

    कोरोना भाइरसको लक्षण

    – ज्वरो आउनु र खोकी लाग्नु,
    – छिटोछिटो सास फेर्नु,
    – सास फेर्न गाह्रो हुने,
    – समयमा उपचार नभएका निमोनिया हुनु,
    – सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,
    – मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।

     

    कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ?

    – नियमित रुपमा हात सफा गर्ने,
    – खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,
    – कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने,
    – मासु र अण्डा राम्रोसँग पकाएर खाने ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast