बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    राष्ट्रियसभा निर्वाचनपछि मात्र सभामुख चयन

    शनिबार, ४ माघ २०७६, आहाखबर

    काठमाडाैं ४ माघ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूबीच प्रतिनिधिसभाका सभामुख कसलाई बनाउने भन्ने विषयमा बहस जारी छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच सभामुखमा अघि सार्ने उम्मेदवारको विषयमा गहन छलफल चलिरहेको छ ।

    तर नेकपाकै एक नेताले भने राष्ट्रियसभा निर्वाचनअघि प्रतिनिधिसभाले सभामुख नपाउने दाबी गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका नेकपा नेता वर्षमान पुनले राष्ट्रियसभा निर्वाचनअगाडि सभामुख चयनको टुङ्गो नलाग्ने बताएका छन् ।

    माघी पर्व मनाउन गृह जिल्ला रोल्पा पुगेका मन्त्री पुनले शुक्रबार पत्रकार सम्मेलन गरेर भने, ‘राष्ट्रियसभा चुनावअगाडि राजनीतिक रूपमा कुनै घटना हुँदैनन्, सभामुखको छिनोफानो पनि चुनावपछि मात्रै हुन्छ ।’

    गत ४ पुसमा सुरु भएको प्रतिनिधिसभाको अधिवेशन सभामुख चयन गर्न नसक्दा पटकपटक स्थगित हुँदै आएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सभामुख बनाउने चाहना र अर्का अध्यक्ष प्रचण्डको तत्कालीन नेकपा माआवादी केन्द्र खेमाका नेतालाई नै सभामुख बनाउने चाहनाबीच प्रतिनिधिसभा बैठक बस्न सकिरहेको छैन ।

    संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिए । उनको राजीनामापछि सभामुख पद रिक्त छ ।

    प्रतिनिधिसभा बैठक सुरु भएको एक महिनासम्म पनि नेकपाले उम्मेदवार टुंगो नलगाउँदा चार महिनादेखि प्रतिनिधिसभाबाट पारित विधेयकहरू अलपत्र छन् ।

    प्रतिनिधिसभाको ६ माघमा बस्ने बैठकबाट प्रतिनिधिसभाले सभामुख पाउने नेताहरूले बताइरहेका बेला पुनले गृहजिल्लाबाट चुनावअघि सभामुखको निर्वाचन नहुने घोषणा गरेका हुन् ।

    सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग छिट्टै गठन हुने बताउँदै पुनले भने, ‘दुवै आयोगमा नयाँ अनुहारसहितको टिम आउँदै छ । शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन यी आयोगहरू आवश्यक सहमतिका आधारमा गठन हुँदै छन् ।’

    उनले गृहजिल्ला पुगेर यस्तो अभिव्यक्ति दिनुअघि आज मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवासहित बसेर सत्य निरुपण र बेपत्ता आयोगमा सहमति जुटाउने प्रयास थालेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast