मंगलवार, चैत्र २५, २०७६
    सार्क

    भारतमा फाँसी यसरी दिईन्छ ...

    बुधबार, १ माघ २०७६, आहाखबर

    नयाँ दिल्ली, १ माघ

    १६ डिसेम्बर २०१२ मा निर्भयाको सामूहिक बलात्कारपछि विभत्स हत्या भएको थियो । सात वर्षपछि दोषीहरुलाई मृत्युदण्डको प्रक्रिया थालिएको छ । सामूहिक बलात्कार र हत्याका चार दोषीलाई २२ जनवरीमा फाँसी दिने तयारी भइरहेको छ ।

    दिल्लीको तिहाड जेल नम्बर ३ मा फाँसी दिइनेछ । भारतका विभिन्न स्थानमा यस्ता जेल छन्, जहाँ फाँसीको व्यवस्था छ । दिल्लीस्थित नेशनल ल युनिभर्सिटीका उपप्राध्यापक अनुप सुरेन्द्रनाथका अनुसार भारतका ३० भन्दा बढी जेलमा फाँसीको व्यवस्था छ ।

    जेल प्रशासनले फाँसीको प्रक्रियासम्बन्धी सूची तयार पार्छ । यसमा फाँसी दिइने मिति र स्थान लेखिन्छ । यसलाई ‘ब्ल्याक वारेन्ट’ पनि भनिन्छ किनकि यसको चारैतिर कालो रङ्गको बोर्डर बनाइएको हुन्छ ।

    फाँसीको प्रक्रिया १४ दिन अघि नै सुरु हुन्छ । फाँसी दिइने व्यक्तिलाई आफ्नो परिवारजनसँग भेट गर्न दिने, उसलाई मानसिक रुपमा तयार पार्ने, जेलभित्र उसलाई काउन्सिलिङ्गको व्यवस्था गर्ने प्रक्रियाहरु सुरु हुन्छन् ।

    फाँसीको सजाय पाउने व्यक्तिले चाहेको अवस्थामा फाँसी दिइने समय त्यहाँ धार्मिक गुरुलाई समेत उपस्थित गराइन्छ ।

    कैदीलाई जेलको अलग्गै रहेको ‘स्पेशल वार्ड’ मा राखिन्छ, जहाँ सुरक्षाको कडा प्रवन्ध गरिएको हुन्छ ।

    फाँसीको सम्पूर्ण तयारीको जिम्मेवारी जेल प्रमुखको हुन्छ । फाँसीको तख्ता, डोरी, नकाबजस्ता सामानहरु दुरुस्त छन् कि छैनन् भन्ने सुक्ष्म अध्ययन गरिन्छ ।

    फाँसीको अघिल्लो दिन साँझ फाँसीको तख्ता, डोरी तथा अन्य आवश्यक सामानको अन्तिम परीक्षण गरिन्छ । डोरीले मानिसको वजन थेग्न सक्छ कि सक्दैन भनेर फाँसीमा झुण्ड्याइने मानिसको तुलनामा डेढ गुणा बढी वजनको बालुवा भरिएको बोरा झुण्ड्याएर डोरीको क्षमता परीक्षण गरिन्छ ।

    फाँसीमा झुण्ड्याउने बन्दोबस्त गर्ने व्यक्ति ‘जल्लाद’ लाई फाँसीको मितिभन्दा दुई दिन अघि नै जेलमा बोलाइन्छ र उसलाई जेलमै बस्ने व्यवस्था मिलाइन्छ ।

    सामान्यतया फाँसी बिहानको समयमा दिइन्छ । महिनाअनुसार फाँसीको समय निर्धारण गरिन्छ । नोभेम्बरदेखि फेब्रुअरीसम्म बिहान ८ बजेको समयमा फाँसी दिइन्छ भने मार्च, अप्रिल, सेप्टेम्बर र अक्टोबर महिनामा बिहान ७ बजे फाँसी दिइन्छ ।

    मे महिनादेखि अगस्टसम्म भने बिहान ८ बजे फाँसीको समय निर्धारण गरिन्छ ।

    जेल प्रमुख र उपप्रमुख फाँसीको समयभन्दा केही मिनेट अघि कैदीको सेलमा जान्छन् । त्यहाँ कैदी पहिचान प्रक्रिया पूरा गरिन्छ । जसको नाममा ‘ब्ल्याक वारेन्ट’ जारी भएको हुन्छ, त्यो कैदीको मातृ भाषामा वारेन्ट पढेर सुनाइन्छ ।

    त्यसपछि कैदीको कुराकानी रेकर्ड गरिन्छ । त्यसपछि जेलका उपप्रमुख बाहेकका अधिकारीहरु फाँसी दिइने स्थानमा जान्छन् । जेलका उपप्रमुख भने कैदीकै सेलमा बस्छन् । उनको उपस्थितिमा कैदीलाई कालो कपडा लगाइन्छ र उसको हात पछाडि फर्काएर बाँधिन्छ । उसको खुट्टामा नेल बाँधिएको रहेछ भने त्यसलाई हटाइन्छ ।
    त्यसपछि मृत्युदण्ड दिइने कैदीलाई फाँसी दिइने स्थानतर्फ लगिन्छ ।

    त्यसपछि जेल प्रमुखले न्यायाधीवक्तालाई कैदी पहिचान भएको र उसलाई वारेन्ट पढेर सुनाइएको औपचारिक जानकारी गराउँछन् ।

    त्यसपछि कैदीलाई जल्लादसमक्ष बुझाइन्छ ।

    कैदीलाई फाँसीको फन्दाभन्दा ठीक तल उभ्याइन्छ । जल्लादले उसका दुवै खुट्टा बाँध्छ र अनुहारमा मुखुन्डो लगाइदिन्छ । त्यसपछि फाँसीको फन्दालाई गर्धनमा हालिन्छ ।

    जेल प्रमुखले इशारा गरेपछि जल्लादले फाँसीको एउटा डन्डी तान्छन्, जसका कारण कैदी उभिएको स्थान मुनीको फाटक खुल्छ र कैदी झुन्डिन्छ ।

    आधा घण्टासम्म झुन्ड्याइसकेपछि कैदीको शरीरलाई निकालिन्छ र चिकित्सकले औपचारिक रुपमा मृत घोषणा गर्दछन् ।

    त्यसपछि शवलाई परीक्षणका लागि पठाइन्छ । पोस्टमार्टमपछि परिवारजनलाई कैदीको मृत शरीर जिम्मा लगाइन्छ र अन्त्येष्टिको प्रक्रिया पूरा गरिन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast