बिहिवार, आषाढ २५, २०७७
    शेयर बजार

    आफ्नै पैसाले कारोबार गरी शेयरबजारलाई गतिशील बनाउन अर्थमन्त्रीकाे आग्रह

    बुधबार, १ माघ २०७६, आहाखबर

    काठमाडौं, १ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नै पैसाले कारोबार गरी पूँजीबजारलाई गतिशील बनाउन लगानीकर्ताहरूलाई आग्रह गरेका छन् ।

    मंगलवार नेपाल स्टक एक्सचेञ्ज 'नेप्से' को २७औं वार्षिक साधारणसभामा उनले बैंकको ब्याजदर कहिले घट्ला, बैंकमा कहिले तरलता आउला अनि शेयरबजार बढ्ला भनेर रमिता नहेर्न पनि आग्रह गरे । उनले  भने, ‘तर छिटो–छिटो कारोबार गर्दा आफ्नो विवेकचाहिँ नगुमाउनु होला ।’ 

    शेयरमा लगानी गर्दा एक वर्षसम्म पैसा रोक्का हुने अवस्था हटेर अहिले गतिशील र उदीयमान पूँजीबजार पाउन सफल भएको उल्लेख गर्दै डा. खतिवडाले लाभांश करको विषयमा बजेटको समयमा छलफल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । लगानीकर्ताहरूले पूँजीगत लाभकरसँगै कम्पनीहरूले दिने लाभांशमा तिर्दै आएको करको विषयमा बजेटमा सम्बोधन गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे । 

    ‘धितोपत्र ऐन अहिले संसद्मा छलफलको क्रममा रहेको छ । ‘आधा दर्जनभन्दा बढी नियमावली र कार्यविधि संशोधनको क्रममा छन्,’ डा. खतिवडाले भने, ‘यस क्रममा वैकल्पिक लगानीसम्बन्धी भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डका लागि व्यवस्था गरिसकिएको छ ।’ सामूहिक लगानी कोषसम्बन्धी नियमावली केही दिनभित्रै आउनेसमेत उनले जानकारी दिए । यी ऐन नियमावली र कार्यविधिहरूले पूँजीबजारलाई अझ गतिशील ढंगले अघि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।

    नियामक र सञ्चालकबीचको ठाकठुक स्वाभाविक भएको बताउँदै उनले भने, ‘नियामकले नियम पालना गराउन खोज्छ अनि सञ्चालकले आफ्नो अनुकूल र सहज हुने गरी संस्था सञ्चालन गर्न खोज्छ । काम गर्दा अप्ठेरो छ भने सञ्चालकहरूले नियामकलाई यहाँनिर अप्ठेरो पर्‍यो भनेर भन्नुपर्छ तर निर्देशन भने पालना गर्नैपर्छ ।’ हाल कार्यान्वयनमा रहेको तीन दिनभित्रको कारोबार राफसाफलाई दुई दिनमा झार्न समेत खतिवडाले आग्रह गरे । 

    दीर्घकालीन ऋणपत्रहरू जारी गरेकोमा बैंकहरूलाई धन्यवाद दिँदै अर्थमन्त्री डा. खतिवडाले दोस्रो बजारमा ऋणपत्रको बजार विकास गर्नुपर्नेमा जोड दिए । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast