बिहिवार, चैत्र २०, २०७६
    बैंक-बीमा

    बैंकमा ५० अर्ब रुपैयाँ अधिक तरलता, सेयर बजारमा सकारात्मक प्रभाव

    मंगलवार, २९ पौष २०७६, आहाखबर

    काठमाडौं, २९ पुस । बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकम ‘तरलता’ सहज भएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा ५० अर्ब रुपैयाँ बराबरको अधिक तरलता रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । 

    केन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘अहिले बैंक तथा वित्तीय संस्थामा ५० अर्बको हाराहारीमा लगानी गर्न सक्ने तरलता छ । पछिल्लो समय यो रकममा ५ अर्ब रुपैयाँ हाराहारीमा मात्र तलमाथि हुने गरेको छ । अर्थात् कुनै दिन ५ अर्ब रुपैयाँ तरलता थपिन्छ भने कहिले यही अनुपातमा घट्छ । तर औसतमा ५० अर्ब रुपैयाँ तरलता रहेको छ ।’ 

    बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै भएपछि अधिक तरलताको अवस्था आएको हो । तरलता सहज भएपछि विस्तारै ब्याजदर घट्ने क्रम पनि सुरु भएको छ । तरलता सहज हुँदा सेयर बजारमा भने सकारात्मक प्रभाव परिरहेको छ । पछिल्ला दिनहरुमा अत्याधिक मात्रामा सेयर खरिदबिक्री हुनु अनि बजार पनि माथितिर लाग्नुमा यही तरलता सहज हुनुलाई नै प्रमुख कारण मानिएको छ । 

    लगानीकर्ताले सेयर कर्जा सजिलै पाउछन् भने  याज पनि सस्तो भएको छ । सेयर धितो कर्जामा भने ६५५ सम्म कर्जा प्रवाह गर्न पाइन्छ । फेरि, सेयर धितो कर्जालाई सबैभन्दा सुरक्षित लगानीको क्षेत्र पनि मानिन्छ । सेयर धितोमा प्रवाह भएको कर्जामा समस्या आएको उदाहरण निकै कम मात्र पाइन्छ ।

    यस्तै, केही दिनअघि केन्द्रीय बैंकले नयाँ निर्देशन जारी गर्दै घरजग्गा, गाडी लगायतका क्षेत्रमा प्रवाह हुने व्यक्तिगत कर्जामा कडाई गरेको थियो । यसले पनि तरलता थप सहज भएको अनुमान छ । वित्तीय संस्थाले अधिकतम कर्जा यही क्षेत्रमा प्रवाहित गर्दै आएका थिए ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast