बुधबार, चैत्र १९, २०७६
    स्कुल-कलेज

    सुरक्षित विद्यालय अभियान शुरु

    आईतवार, २७ पौष २०७६, आहाखबर

    काठमाडौँ, २७ पुस

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ । एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा) को सहयोगमा राजमार्ग वरपरका विद्यार्थीलाई सवारी दुर्घटना जोखिमबाट बच्ने विषयमा सचेतना पनि गरिने बताउनुभयो । 

    राजमार्ग नजिक रहेका विद्यालयबाट शुरु गरिएको यो अभियान क्रमशः विस्तार हुने सो संस्थाले जनाएको छ । विसं. २०७२ को गोरखा भूकम्पपछि सरकारले सुरक्षित विद्यालयसम्बन्धी नीतिमा प्राथमिकता दिएको सन्दर्भमा एन प्याब्सनले पनि आफ्नो तर्फबाट अभियान सञ्चालन गरेको हो । 

    संस्थाको २२औँ स्थापनाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले शिक्षक कर्मचारीको औषधोपचार बीमा, विद्यार्थी बीमा र विद्यार्थीको निःशुल्क आँखा जाँच कार्यक्रमको निरन्तरता दिइएको जानकारी दिनुभयो । संस्थाले सदस्य विद्यालयको विवरण अद्यावधिक गर्न ‘इमार्क’ को सहयोगमा आजदेखि नेसनल प्याब्सन एपको शुभारम्भ गरिएको छ । 

    स्थापनको दिवसको कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु गीता राणा, कर्णबहादुर शाही, संस्थापक महासचिव अर्जुनबहादुर अधिकारीलगायत सहभागी भई केक काटेर शुभकामना आदानप्रदान गर्नुभएको थियो । निजी लगानीमा सञ्चालित विद्यालयको संरक्षण र संवद्र्धन तथा संस्थापकको स्वामित्व स्थानान्तरण हुँदै जाने अधिकार सुनिश्चित गर्न विसं २०५४ मा एन प्याब्सनको स्थापना भएको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast