बिहिवार, चैत्र २७, २०७६
    कृषि-उर्जा

    आजकाल झ्याप्प झ्याप्प बिजुली जानुको कारण यस्तो छ

    बुधबार, २३ पौष २०७६, आहाखबर

    काठमाडौँ, २३ पुस

    मंसिरयता झ्याप्प झ्याप्प बत्ति जाने क्रम निकै बढेको छ । काठमाडौँ उपत्यकामा विशेषगरी बिहान र बेलुकाको समयमा बत्ति आउने जाने भैरहँदा उपभोक्ता हैरान भएका छन् ।

    नेपाल विद्युत प्राधिकरणले विद्युतीय सामग्रीको प्रयोग बढाउनुहोस् भन्ने, तर खाना पकाउने बेलामा नै किन बत्ति गैरहन्छ भनेर उपभोक्ताले गुनासो गर्न थालेका छन् । 

    नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ छैन भने पनि उपभोक्ताले भने लोडसेडिङकै महसुस गरिरहेका छन् । प्राधिकरणले खाना पकाउन पनि इन्डक्सन चुल्हो प्रयोग गर्नुहोस भनेको छ, तर उपभोक्ताले पहिला बत्ति दिनुहोस अनि बल्ल इन्डक्सन बालौँला भन्न थालेका छन् ।

    अहिले विद्युत अनियमित हुने समस्या काठमाण्डौमा धेरै रहेको नेपाल विद्युत प्राधिकरणको दावी छ । प्राधिकरणले काठमाण्डौमा योबेला बढीमा ३ सय ५० मेगावाट बिजुलीको माग हुने अनुमान गरेको थियो । तर काठमाण्डौ उपत्यकामा बिजुलीको माग अहिले पिक आवरमा ४ सय ५० मेगावाट नाघेको छ । 

    अहिले देशभरको बिजुलीको माग १३ सय मेगावाट पुगेको छ । प्राधिकरणले माग जति धेरै बढे पनि लोडसेडिङको तालिका निकाल्न नपर्नेगरी माग र आपूर्तिको व्यवस्था मिलाइएको जनाएको छ । 

    १३ सय मेगावाट बिजुलीको माग भएकोमा नेपाल विद्युत प्राधिकरणले बनाएका आयोजनाबाट ५ सय मेगावाट विद्युत उत्पादन भैरहेको छ । यस्तै निजी क्षेत्रले बनाएका आयोजनाबाट ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । अपुग ५ सय मेगावाट बिजुली भारतबाट आयात भैरहेको प्राधिकरणले जनाएको छ । 

    नागरिकले बिजुली गैरहेको गुनासो गरिरहँदा विद्युत प्राधिकरणको पनि आफ्नै समस्या छ । काठमाण्डौमा सडक विस्तार भैरहेकाले बिजुलीको पोल सार्दा र रुख काट्दा बत्ती काट्नुपरेको, प्रसारणलाइन, सबस्टेशन र फिडरमा नयाँ उपकरण राख्दा र सुधार गर्दा पनि बत्ति नै काट्नुपरेको र पुराना उपकरण परिवर्तन गर्दा पनि बत्ति काट्नुपरेकाले केही क्षेत्रका उपभोक्ताले नियमित बिजुली नपाइरहेको विद्युत प्राधिकरणको दावी छ ।

    गएको वर्ष झण्डै १० हजार ट्रान्सफर्मर थपेको प्राधिकरणले यो आर्थिक वर्षको ५ महिनामा २ हजार ट्रान्सफर्मर परिवर्तन गरिसकेको छ । नयाँ फिडर थप्ने काम गरिरहँदा र बढी लोड भएको फिडरमा आउने लोडलाई नजिकै रहेको अर्को फिडरमा पठाउने काम पनि भैरहेको  प्राधिकरणले जनाएको छ । 
    यस्तै काठमाण्डौको विद्युत नियमित बनाउन भक्तपुरमा साढे २२ एमभीएको ट्रान्सफर्मर राखिएको र स्युचाटारमा ३० एमभीएको १३२/११ केभीको ट्रान्सफर्मर राखेको पनि प्रवक्ता अधिकारीले बताउनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast