शनिबार, आषाढ २७, २०७७
    बैंक-बीमा

    इटालीमा नेपाल इन्भेष्टमेन्ट बैंकले हार्‍यो करिव २ अर्बको मुद्दा

    शुक्रबार, १८ पौष २०७६, आहाखबर

    काठमाडौं, १८ पुस । नेपाल इन्भेष्टमेन्ट बैंकले इटलीमा करिव २ अर्व बरावरकाे मुद्धा हारेकाे छ । तनहुँ जलविद्युत आयोजनाका लागि राखिएको कार्यसम्पादन जमानत जफत भएपछि इटालियन बैंकले नेपाल इन्भेष्टमेन्टलाई काउन्टर ग्यारेन्टीबापतको भुक्तानी गर्न नपर्ने फैसला अदालतले गरेकाे हाे ।

    तनहुँ हाइड्रोको इटालियन ठेकेदार कोअपरेटिभ मुराटोरी ई केमेन्टिस्टी 'सीएमसी'ले स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोग्ना’ मा मुद्दा दायर गरेको थियो । सीएमसीले मुद्धा जितेपछि इन्भेष्टमेन्ट बैंकलाई काउन्टर ग्यारेन्टीबापत नेपालमा तनहुँ हाइड्रोलाई दिएको करिब २ अर्ब रुपैयाँ असुलउपर गर्न कठिन भएको छ ।

    तनहुँले ८५ करोड नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो गरी करिब १ अर्ब ९७ करोड बराबरको ग्यारेन्टी रकमबापतको भुक्तानी इन्भेष्टमेन्ट बैंकबाट जफत गरेको थियो । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार इटालीको अदालतले जमानतबापत जफत भएको रकमको काउन्टर भुक्तानी स्थानीय इन्टेसा सानपओलो बैंकले इन्भेस्टमेन्ट बैंकलाई दिन नपर्ने भनेको हो । इन्भेष्टमेन्ट बैंकले फैसलाविरुद्ध इटालीका माथिल्ला अदालतमा पुनरावेदन गर्न सक्ने विकल्प भने खुला नै छ ।

    आफ्नो आयोजनामा काम सुरु नगर्दै मेलम्चीबाट सीएमसी भागेपछि तनहुँ जलविद्युत आयोजनाले ठेक्का तोडेको थियो । जमानत ठेक्का तोडिएपछि आयोजनाले इन्भेष्टमेन्ट बैंकबाट जमानत जफत गर्‍यो । त्यसपछि इटालियन ठेकेदार कम्पनी आफ्नो जफत भएको जमानतबापत बैंकलाई रकम भुक्तानी गर्न नसकिने भन्दै अदालत गएको थियो ।

    नेपालमा काम गर्ने वातावरण नभएको र आयोजनाले नै आफूमाथि छल गरेकाले आयोजना छाड्नुपर्ने अवस्था आएको भन्दै बैंक जमानत बापतको रकम आफूले तिर्न नसक्ने दाबी सीएमसीको थियो । उसले आफुलाई काम गर्ने वातावरण नबनाइएको, कम्पनीका प्रतिनिधिको पासपोर्ट जफत गरेर असुरक्षा सिर्जना गरिएको लगायतका दावी गरेको छ ।

    नियमअनुसार इन्भेष्टमेन्ट बैंकले जफत भएको बराबरको रकम काउन्टर जमानी दिएको इटालियन इन्टेसा सानपओलो बैंकबाट पाउनुपर्ने हो । त्यसअनुसार इन्भेष्टमेन्ट बैंकले इन्टेसा सानपओलोसँग जफत भएको बराबरको रकम मागेको थियो । इटालियन अदालतले मार्च १४ मा प्रारम्भिक सुनुवाई गर्दै तत्काल इन्भेस्टमेन्ट बैंकलाई रकम भुक्तानी नदिन अन्तरिम आदेश दिएको थियो । त्यसपछि गत सेप्टेम्बरमा भएको सुनुवाईपछि सीएमसीकै पक्षमा अदालतले फैसला सुनाएको हो ।

    मेलम्चीबाट काम छाडेर भागेको सीएमसीलाई तनहुको साइटमा काम थाल्न २८ दिनको समय दिएको थियो । तर, समयसीमामा सीएमसी काममा नफर्किएपछि ठेक्का रद्द गरिएको थियो ।

    १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युतकोे नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना ९हेड वक्र्स० निर्माणका लागि इटालियन कम्पनी सिएमसी छनोट भएको थियो ।

    मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको कम्पनीले तनहुँ जलविद्युत आयोजनाको काममा नजाँदै आर्थिक संकटमा फसेपछि नेपालबाट बाहिरिएको थियो । सीएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ९प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित०मा खरिद सम्झौता भएको थियो ।

    ठेक्का समझौता गरेर जमानत ल्याइसकेको सीएमसी टाट पल्टिएपछि नेपालबाट बाहिरिएको थियो । मेलम्ची खानेपानी आयोजनाबाट एकोहोरो रुपमा ठेक्का तोडेर भाग्न खोज्दा सीएमसीका प्रतिनिधिलाई सरकारले नियन्त्रणमा लिएको थियो । उनीहरुको पासपोर्ट पनि जफत भएको थियो ।

    पछि इटालीयन दूतावासको आग्रहमा उनीहरुलाई अंग्रेजी नयाँ वर्ष मनाएर फर्किने गरी विदेश जान अनुमति दिइएको थियो । तर, कम्पनी नेपाल फर्किएन ।

    सीएमसी गएपछि मेलम्ची र तनहुँ आयोजनाले काममा फर्किन आग्रह गर्दै पत्र लेखेका थिए । यसबीचमै तनहुँले सीएमसीलाई २८ दिनको समयसीमा दिएर कार्यस्थलमा आउन भन्दै सूचना जारी गरेको थियो ।

    तर, सीएमसीले त्यसमा प्रतिक्रिया नजनाई बस्यो । प्रक्रिया पु‍¥याएरै आयोजनाले ठेक्का तोडे पनि जमानत जफतपछि कम्पनीले अदालत गुहारेको थियो ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast