सोमबार, चैत्र २४, २०७६
    अावास-निर्माण

    १ लाख १३ हजार भूकम्पपीडितको गुनासो सम्बोधन

    आईतवार, १३ पौष २०७६, आहाखबर

    काठमाडौं, १३ पुस

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले सात हजार ४९४ पुनःनिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको यही पुस ११ र १३ गते बसेको बैठकले पुनः जाँच तथा छुट सर्वेक्षण, २०७५ एवं २०७६ बाट सङ्कलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप भएको प्राधिकरणले जनाएको हो ।
      
    प्राधिकरणले तीन हजार ७६ प्रबलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९९८ गुनासोकर्तालाई गैर लाभग्राही कायम गरेको छ । मङ्सिर तेस्रो साता बसेको समितिको बैठकले ४२ हजार ७४२ गुनासो सम्बोधन गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको थियो । यसैगरी दुई हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको थियो । छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत सङ्कलित कूल एक लाख ८९ हजार लगतमध्ये हालसम्म एक लाख १३ हजार ४३ को निर्णय भइसकेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।

    “बाँकी गुनासो प्राधिकरणमा खटिएका इञ्जिनियरले विश्लेषण गरिरहेका छन्, पुस मसान्तभित्र सबै गुनासो पुनरावलोकन गरी लाभग्राहीमा समावेश गर्ने नगर्ने निर्णय हुन्छ”, उहाँले भन्नुभयो । लाभग्राही कायम भएका भूकम्पप्रभावित घरधुरीले सम्बन्धित वडामार्फत अनुदान सम्झौता गरी पहिलो किस्ताबापत रु ५० हजार तत्काल प्राप्त गर्नेछन् । पुनः जाँच तथा छुट सर्वेक्षणबाट लाभग्राही कायम भएकाले २०७६ माघ मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ । त्यसैगरी, २०७७ वैशाख मसान्तभित्र दोस्रो किस्ता र २०७७ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने सहप्रवक्ता घिमिरेले बताउनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast