सोमबार, चैत्र २४, २०७६
    अावास-निर्माण

    बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाउन माग

    आईतवार, २९ मंसिर २०७६, आहाखबर

    गोरखा, २९ मङ्सिर

    प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले बूढीगण्डकी जलविद्युतु आयोजना निर्माणको काम तत्काल अघि बढाउनुपर्ने बताउनुभएको छ । 

    भीमसेन थापा गाउँपालिका–४ धावामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले बुढीगण्डकी जलाशययुक्त आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले त्यसलाई प्राथामिकता दिएर निर्माण अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

    सांसद अधिकारीले भन्नुभयो, “विद्युत् उत्पादन मात्र नभई अब आयोजना वरपरको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी आयोजना निर्माणको अघि बढाउनु आवश्यक छ ।” उहाँले आयोजना वरपर चक्रपथ निर्माण गरी त्यसको उचित व्यवस्थापन गर्न सके यो आयोजनाले देशको मुहार नै फेर्न सक्ने बताउनुभयो । 

    सांसद अधिकारीले आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखातर्फका आरुघाट, आर्खेत र धादिङतर्फका विशालटार तथा खहरे क्षेत्रको मुआब्जा निर्धारण भएका केही प्राविधिक समस्यालाई हल गर्न आफूले पहल गरिरहेको बताउनुभयोे । “मुआब्जामा निर्धारणमा जनतालाई मर्कामा पर्नु हुँदैन भन्नेमा म पनि प्रतिबद्ध छु”, उहाँले भन्नुभयो, “डुबान क्षेत्रका जनताको पुनर्बास र पुनःस्थापनाका लागि अब राज्यले उचित निर्णय लिनुपर्छ ।”

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast