शनिबार, फागुन १०, २०७६
    कृषि-उर्जा

    पर्वतमा २१ सिँचाइ आयोजना निर्माण शुरु

    शनिबार, २८ मंसिर २०७६, आहाखबर

    पर्वत, २८ मङ्सिर ।

    पर्वतका स्थानीय तहमा २१ सिँचाइ आयोजना निर्माण हुने भएका छन् । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ५०० हेक्टरभन्दा धेरै जमीन सिँचाइ हुनेगरी आयोजना निर्माण हुन लागेका हुन् । कृषिमा आधुनिकीकरणसँगै खाद्यान्न, तरकारी र फलफूल खेतीलाई सिँचाइ सहज बनाउन फलेवास नगरपालिकामा मात्रै सात नयाँ सिँचाइ निर्माण हुन लागेका हुन् ।

    त्यस्तै, कुश्मा नगरपालिकामा चार, पैयुँमा तीन, जलजलामा तीन, मोदीमा दुई र बिहादीमा दुई सिँचाइ आयोजना निर्माण हुन लागेका हुन् । चालू वर्षमै काम शुरु भएर सकिने गरी सञ्चालित आयोजनाले जिल्लाको ५१२ हेक्टर खेतीयोग्य जमीन समेट्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले जानकारी दिएको छ जसका लागि चालू वर्ष रु नौ करोड ५४ लाख बजेट छ । 

    स्रोत भएर पनि सिँचाइ सहज हुन नसकेका क्षेत्र छनोट गरेर चालू वर्ष नै सक्नेगरी कतिपय आयोजना शुरु भइसकेको डिभिजन प्रमुख थलबहादुर तामाङले बताउनुभयो । सिँचाइ आयोजना निर्माण हुने चरणमा रहेका अधिकांश ठाउँ धान, मकै, गहुँ र तरकारी बालीका लागि पकेट क्षेत्रका रूपमा छन् । थोरै लगानीमा किसानले धेरै प्रतिफल लिने क्षेत्रलाई छनोट गरी सिँचाइ आयोजना अगाडि बढाइएको उहाँले बताउनुभयो ।

    जिल्लामा २८ हजार ५९३ हेक्टर खेतीयोग्य जमीन भएकोमा परम्परागत सिँचाइ आयोजनाबाट सिञ्चित हुने जमीनको क्षेत्रफल नौ हजार ९४० हेक्टर जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast