सोमबार, जेष्ठ १२, २०७७
    यातायात

    नारायणगढ–मुग्लिन सडकका आठ स्थानमा पहिरो रोक्ने काम गरिने

    शुक्रबार, २७ मंसिर २०७६, आहाखबर

    चितवन, २७ मङ्सिर 

    सडक विस्तारको काम सम्पन्न भए पनि पहिरोको जोखिम कायमै रहेको नारायणढ–मुग्लिन सडक खण्डका आठ स्थानमा पहिरो रोक्ने काम गरिने भएको छ । सडकमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी रोकेर आजदेखि काम थालिने भनिएकामा पानी परेपछि काम शुरु हुन सकेको छैन । 
     
    नारायणढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार सो सडक खण्डको आठ स्थानमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प्रयोग गरेर गरिने रक नेटिङ, बायोइन्जिनीयरिङ, बोल्टिङलगायतका काम गरिँदैछ । सडक खण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलबिरे, चारकिलो, टोपे खोला र कालीखोला नजीक पहिरो रोकथामका काम गरिने खनालले जानकारी दिनुभयो ।

    ती काम छ महिनाभित्र सम्पन्न गर्ने गरी बज्रगुरु, हिमशिखर र न्यू टेक्निकल कम्पनीहरुले संयुक्त रुपमा रु १२ करोडको बोलपत्र सकार गरेका छन् । कामका क्रममा ढुङ्गा र माटो खस्ने भएकाले सडक रोकेर काम गर्न लागिएको हो । खनालका अनुसार पहिलो चरणमा खुकुलो माटो र ढुङ्गा झारिनेछ । गत वर्ष सडक विस्तारको काम सम्पन्न भए पनि पहिरो नियन्त्रणको काम सकिएको थिएन । नयाँ प्रविधिको उच्चतम प्रयोग गरी पहिरो रोक्ने काम गर्न लागिएको हो । 

    बाटो सम्पन्न भएसँगै चारवटा पुल बनाउन थालिएकामा तीनवटा सम्पन्न भई सकेका छन् भने एउटा अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलको निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । सडकको चौडाइ नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको भए पनि पुल पाँच दशमलब पाँचदेखि ६ मिटरसम्म मात्र चौडाइ रहेको छ । यो सडक राजधानी भित्रने प्रमुख सडक हो । 
     
    नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो रोकथामको काम गर्नका लागि आजदेखि दुई सातासम्म दिनमा सवारी रोक्न लागिएको भए पनि पानी परेका कारण आज काम शुरु नभएको हो । यसै सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast