मंगलवार, माघ १४, २०७६
    राज्य-समाज

    क्याबिनेट डाकेर प्रधानमन्त्री ओलीले के के निर्णय गर्दैछन्

    शुक्रबार, २० मंसिर २०७६, आहाखबर

    काठमाडौँ, २० मङ्सिर 

    अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट सक्रियता देखाइरहेका छन् ।

    उनले केही दिनमै क्याबिनेट बैठक राखेर मन्त्रीहरुलाई महत्वपूर्ण निर्देशन दिने भएका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘प्रधानमन्त्रीज्यूले अब केही दिनमा क्याबिनेटको मिटिङ राख्नुहुन्छ र मन्त्रीहरुलाई ठिक ढंगले काम गर्न निर्देशन दिनुहुन्छ ।’

    अस्पताल जानुअघि प्रधानमन्त्रीले मन्त्रीहरुलाई दिएको निर्देशनको प्रगतिबारे जानकारी लिने भएका छन् । कार्यसम्पादन करार अनुसार कसरी काम भएको छ भन्ने जानकारी लिनेछन् । 

    रिमालले भने, ‘उहाँले मन्त्रीहरुलाई त्यसबेला फागुन महिनाभित्र गर्नुपर्ने पुँजीगत खर्चलाई ध्यान दिनुहोस् भन्नु भएको छ । प्रधानमन्त्रीले जनताले महसुस गर्ने गरी हुने कामलाई मात्रै माइलस्टोनमा राख्न निर्देशन दिनुभएको छ ।’

    ओली माथिल्लो सदको नयाँ चुनावबारे समेत गम्भीर भइसकेका छन् । रिमालका अनुसार राष्ट्रियसभाका चुनावका लागि क्याबिनेटले तय गरेर राष्ट्रपतिलाई पत्र लेख्ने, मिति तोक्ने काम हुने बताए ।

    सभामुख चयनमा पनि प्रधानमन्त्री गम्भीर भइसकेका छन् । संसदको हिउँदे अधिवेशनबाट सभामुख चयन हुनेछ । त्यसका लागि ओलीले आन्तरिक गृहकार्य थालिसकेका छन् ।

    प्रधानमन्त्री ओलीले साग खेलकुदमा पदक जित्ने खेलाडीका लागि प्रोत्साहनस्वरुप विशेष घोषणा गर्ने बुझिएको छ । मन्त्रिपरिषद् बैठक बसेर घोषणा गरिने बुझिएको छ ।

    भारतसँग सीमा समस्याका बारेमा कुटनीतिक तरिकाले छलफल अगाडि बढाइने रिमालले बताए । उनले भने, छिमेक भनेकै कहिलेकाही घाच्चघुच्च हुने ठाउँ हो ।परको ठाउँमा सीमानाको कुरा हुँदैन । यी धेरै पहिलाको विषय हुन्, ती हल गर्नुपर्ने हो । प्रधानमन्त्री तहमा पनि वार्ता हुनसक्ने बताइएको छ । रिमालका अनुसार प्रधानमत्री तहमा पनि वार्ता हुनसक्छ । टेबलमा प्रमाण पेश गरिने उनको भनाई छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast