मंगलवार, माघ १४, २०७६
    राज्य-समाज

    महिला उम्मेदवारलाई पत्याएनन् मतदाताले

    बुधबार, १८ मंसिर २०७६, आहाखबर
    मध्यपुरथिमि, १८ मङ्सिर
     
    भक्तपुर क्षेत्र नं १ (क) मा गत १४ गते भएको प्रदेशसभा सदस्य पदको उपनिर्वाचन सकिएर नतिजा आइसकेको छ । यो उपनिर्वाचनमा दलले महिलालाई उम्मेदवार बनाउन पत्याएनन् भने मतदाताले स्वतन्त्र उम्मेदवार बनेका महिला उम्मेदवारलाई पत्याएनन् ।
     
    उपनिर्वाचनमा प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डिपी ढकाललाई दुई हजार २४३ मतको अन्तरले पराजित गर्दै नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भइरहँदा महिला उम्मेदवारको चर्चा भने शून्य नै रह्यो । प्रदेशसभा सदस्यका लागि तीन जना महिलाले स्वतन्त्र उम्मेदवारी त दिए तर उनीहरुले आफ्नोबाहेक अरुको मत पाउन सकेनन् । 
     
    उपनिर्वाचनमा १९ जनाले उम्मेदवारी दिएका थिए । नौ वटा दलका उम्मेदवार र १० जना स्वतन्त्र उम्मेदवार । स्वतन्त्र उम्मेदवारमध्ये सुमना कार्की, सङ्गीता पौडेल आचार्य र सुजाता देउजाले प्रदेशसभा सदस्यको सपना बुन्दै उम्मेदवारी दिएका थिए । उनीहरुले जमानत जोगाउने त परै जाओस्, आफन्तका मतसमेत सुनिश्चित गर्न सकेनन् । 
     
    महिला उम्मेदवारमा सबभन्दा बढी मत सुमना कार्कीको थियो । चुनाव चिह्न जिप पाउनुभएकी कार्कीको कूल पाँच मत मात्रै खस्यो । घुम्ने कुर्सी चुनाव चिह्न पाउनुभएकी अर्का उम्मेदवार सङ्गीता पौडेल आचार्यले जम्मा दुई मत पाउनुभयो भने स्कुटर चुनाव चिह्न पाउनुभएकी सुजाता देउजाको त झन् आफ्नो एक मत मात्रै खस्यो । उम्मेदवारी दिएका नौ वटा दलले महिलाको नाम उम्मेदवारको सिफारिसमा त पारे तर पार्टीबाट टिकट भने पाएनन् । पार्टीले महिलालाई उम्मेदवारमा पत्याएन । 
     
    नेकपा भक्तपुर जिल्ला कमिटीले उम्मेदवारमा चार जनाको नाम सिफारिस गर्दा महिलातर्फ नारायणी फुयाँल एक जनाको नाम सिफारिस गरेर पठाएको थियो । अन्ततः पार्टीले टिकट भने जिल्ला सचिव ढकाललाई दियो ।  “नेकपाभित्र उम्मेदवार बन्न सक्षम र क्षमतावान् महिला धेरै छन् तर पार्टीमा लामो समयदेखि योगदान गरेकालाई टिकट दिनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो”, यसबारेमा नारायणी भन्नुहुन्छ, “पार्टीले मेरो योगदानको मूल्याङ्कन गरेर नाम सिफारिस ग¥यो तर मेरो नाममा टिकट आएन, त्यसमा म दुःखी छैन, पार्टीमा अझै काम गर्नुपर्छ भन्ने मनन् गरियो र पार्टीको निर्णयलाई स्वीकार गरियो ।”
     
    यसबारेमा नेकपाका भक्तपुर अध्यक्ष बचन देउजा पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने भएकाले महिला उम्मेदवार छनोटमा नपरेको बताउनुहुन्छ । महिला नभएर उम्मेदवार नभएको होइन भन्नुहुन्छ उहाँ । नेपाली काँग्रेसले पनि चार जना महिलाको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । जिल्लाले ११ जनाको नाम सिफारिस गर्दा महिलाको नाम पनि सिफारिस भए पनि केन्द्रले महिलालाई पत्याएन र भँडेललाई टिकट दियो । 
     
    काँग्रेस जिल्ला सभापति दुर्लभ थापा उम्मेदवार बन्न लायक होनाहार महिला काँग्रेसमा भए पनि यो उपनिर्वाचनमा भने यहाँको माहोल हेरेर जित्ने रणनीतिक योजनाअनुसार टिकट दिएको बताउनुहुन्छ । पार्टीमा सक्षम नेतृत्व गर्ने महिला भएकाले नै जिल्लाले महिलाको नाम सिफारिस गरेको उहाँको भनाइ छ । दलको नेतृत्व तहले सजिलै महिला उम्मेदवारलाई विश्वास गरिहाल्ने अवस्था भने अझै नआएको राजनीतिक विश्लेषक सावित्री थापा बताउनुहुन्छ । 
     
    उहाँ भन्नुहुन्छ, “पितृसत्तात्मक समाजमा अझै पनि महिलाले गर्न सक्दिन भन्ने मान्यता दलको माथिल्लो निकायमै भएको र महिलाको पहुँच केन्द्रीय तहसम्म सजिलै नहुने भएकाले महिलालाई नेताहरुले सजिलै टिकट दिन नपत्याउने गरेको हुन् ।” उपनिर्वाचनमा पाँच मत ल्याउने उम्मेदवार कार्की भने घरदैलो हिँड्नसक्ने जमात, पैसा खर्च गर्नसक्ने जमात र आम मतदाताबीच राम्ररी भिज्न नसक्दा मत नआएको बताउनुहुन्छ । 
     
    यसबारेमा महिला उम्मेदवार पौडेल र देउजा पनि मतदाताले पनि सहजै महिला उम्मेदवारलाई विश्वास नगर्ने गरेको आफूहरुले पाएको बताउनुहुन्छ । उहाँहरु महिलालाई महिलाको भोट पनि नआएको बताउँदै राजनीति गर्न र बलियो उम्मेदवार बन्न पहुँच, पैसा र जनतासँग धेरै घुलमिल भएको हुनुपर्ने रहेछ भन्ने आफूले बुझेको बताउनुहुन्छ । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast