मंगलवार, फागुन ६, २०७६
    धर्म-संस्कृति

    विवापञ्चमी पर्व भगवान राम र देवी सीताको पूजा गरी मनाईँदै

    आईतवार, १५ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, १५ मङ्सिर 

    त्रेतायुगमा मार्ग शीर्ष शुक्लपञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको छ । 

    मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा देवी सीता र भगवान रामको विवाह महोत्सव आइतबार विधिपूर्वक हुँदैछ । गोश्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिला बासिन्दाले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

    त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेको मानिन्छ । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्लपञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

    रामायण अनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ ।

    सीतालाई छोरी बहिनीका रूपमा मान्ने मिथिला बासिन्दा महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

    महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राममन्दिरबाट बाजागाजा, झाँक्रीसहित भगवान रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

    रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

    रङ्गभूमि मैदानमा बर र बधु पक्षबिच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीता रामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।

    पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग समृद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।

    उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यता समेत छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast