मंगलवार, माघ १४, २०७६
    स्कुल-कलेज

    गैरकानूनी शुल्क फिर्ता गर्न विद्यार्थीको प्रदर्शन

    आईतवार, ८ मंसिर २०७६, आहाखबर
    चितवन, ८ मङिसर
     
    चितवन मेडिकल कलेजमा गठन भएको चिकित्सा शिक्षा सङ्घर्ष समितिको अगुवाइमा आज यहाँ बृहत् प्रदर्शन भएको छ । मेडिकल कलेजहरूले असुल गरेको गैरकानूनी शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक तथा नागरिक समाजको अगुवाइमा प्रदर्शन गरिएको हो । 
     
    वीरेन्द्र क्याम्पसबाट शुरु भएको प्रदर्शनले बजार परिक्रमा गरेको थियो । विरोध र्यालीपछि आयोजित कोणसभामा अभिभावक विष्णुप्रसाद ओली र विद्यार्थी मान्यता थापाले बढी शुल्क असुल गर्ने कलेजहरुलाई कडा कारवाही गरिनुपर्ने माग गर्नुभयो ।  
     
    मेडिकल कलेजलाई शिक्षा मन्त्रालयले बढी उठाएको शुल्क फिर्ता गर्न १५ दिनको समय दिएको थियो । त्यो समय सोमबार सकिँदैछ । विद्यार्थीका अनुसार अहिलेसम्म मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ता गरेको छैन । शिक्षा मन्त्रालयले १५ दिनभित्र गैरकानूनी शुल्क फिर्ता नलिए मेडिकल कलेजलाई कारवाही गर्ने जनाएको छ । 
     
    यसैबीच शनिबार चितवन मेडिकल कलेजको कैलाशनगरमा रहेको कलेज परिसरबाट पेस्तोल र गोली भेटिएको भन्दै प्रहरीले विशेष निगरानी बढाएको छ । पेस्तोल कसले राखेको भन्ने विषयमा प्रहरीले अध्ययन थालेको छ । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast