मंगलवार, माघ १४, २०७६
    लाइफस्टाइल

    तनावपूर्ण गर्भधारणले छोरा हुने सम्भावना घटाउँछ : अध्ययन

    आईतवार, ८ मंसिर २०७६, आहाखबर

    एजेन्सी, ८ मङ्सिर । 

    कोलम्बिया युनिभर्सिटी इर्भिङ मेडिकल सेन्टर न्युयोर्कस्थित महिला मानसिक स्वास्थ्यकी अध्यक्ष क्याथरिन मंकको नेतृत्वमा भएको उक्त अनुसन्धानमा यस्तो पत्ता लागेको हो । उनी भन्छिन्, “आमाको गर्भ भनेको बच्चालाई प्रभाव पर्ने पहिलो घर हो र गर्भाशयमा पुरुषहरु बढी संवेदनशील हुन्छन् ।”

    प्राकृतिक रुपमा प्रत्येक १०० जन्ममा औसतमा पनि १०५ जना पुरुष हुने गर्दछन् । तर यस अध्ययनमा उच्च रक्तचाप लगायत शारीरिक तनावका अन्य लक्षण भएका महिलाहरुले प्रत्येक नौजना छोरीमा केबल चारजना मात्र छोरा पाएका हुन् । अर्थात छोरा र छोरीबीचको अनुपात ४ः९ थियो । यता मानसिक रुपमा तनावमा भएका महिलाहरुले प्रत्येक तीनजना छोरीमा दुई छोरालाई जन्म दिएका हुन् अर्थात यसमा अनुपात २ः३ थियो ।

    तापनि सबै महिलाहरुको गर्भधारण भने स्वस्थ रुपमा सम्पन्न भएको थियो । मंकले भनेकी छन्, “अन्य अनुसन्धानकर्ताहरुले पनि तनावसँग सम्बन्धित जन्मको घटनामा यस्तै शैलीमा छोराको घट्दो जन्मदरबारे पत्ता लगाएका छन् । ” यसको उदाहरणका रुपमा अमेरिकाका स्वर्गीय राष्ट्रपति केनेडीको हत्याको घटना र न्युयोर्क सिटीमा भएको सेप्टेम्बर ११ को आतङ्की हमलालाई लिन सकिन्छ । ती समयमा मानसिक रुपमा तनावग्रस्त रहेकाले छोराको जन्मदरमा कमी पाइएको दाबी गरिएको छ ।  

    यता शारीरिक रुपमा दबाबमा रहेका गर्भवती महिलामा पनि तुलनात्मक रुपमा समय अगावै जन्म दिनुपर्ने अवस्था आउने सम्भावना बढ्ने र मानसिक रुपमा अस्वस्थ महिलाहरुमा जन्मको समयमा अझ बढी समस्या आउने गरेको छ । तर आमा बन्नेहरुले आफ्नो समस्या बताउन सक्ने साथी वा सामाजिक समर्थन प्रदान गर्ने व्यक्ति साथमा भएमा जटिल गर्भधारण नहुने गरेको आश्चर्यजनक नतिजा प्राप्त भएको मंकले बताइन् । यो भन्दा पनि अनौठो अर्को तथ्य भनेको सामाजिक समर्थन प्राप्त गर्ने आमामा छोराको जन्म हुने सम्भावना अधिक रहेको पाइएको हो । उनले थप भनेकी छन्, “यस्तो साथसमर्थन साथीभाइ , परिवार जोकोहीबाट पनि हुन सक्छ । धार्मिक समुदायमा आफ्नै हो भन्ने भावले पनि गर्भवती महिलालाई सामाजिक समर्थन दिलाउन सक्छ । ” 

    अध्ययनका अनुसार विश्वका ३० प्रतिशत गर्भवती महिला कार्यस्थलको दबाब र डिप्रेसन लगायतका कारण मानसिक तनावबाट गुज्रिने गरेका छन् । यस अनुसन्धानले त्यही तनावले गर्भधारणमा कस्तो प्रभाव पार्छ भन्ने अध्ययन नगरेपनि यसका लागि स्ट्रेस हर्मोन कोर्टिसोल जिम्मेवार रहेको पत्ता लगाएको हो । कोर्टिसोल भनेको शरीरको आकस्मिक प्रणालीमा पर्दछ जसले खतरा सकिएको जानकारी दिन्छ र धेरै मात्रामा हुनाले यसले रक्तचाप उच्च गराउँछ । यस्तोमा अनुसन्धानका क्रमममा तनावमा रहेका गर्भवती महिलामा कोर्टिसोलको स्तर धेरै रहेको पाइएको हो र बच्चाको तरल पदार्थमा समेत फेला परेको थियो । त्यसैले तनाव बच्चा र आमा दुवैका लागि अत्यन्तै हानिकारक हुने असिस्टेन्ट क्लिनिकल प्रोफेसर लोरा बर्मन बताउँछिन् । त्यसैले पनि गर्भवती महिलालाई डाक्टरहरुले तनावबाट टाढा रहन सुझाव दिन्छन् ।  

    नयाँ आमामा आत्मविश्वास जगाउनका लागि सामाजिक समर्थन अत्यावश्यक रहेको डाक्टर क्रिस्टिना पेनफिल्ड बताउँछिन् जो न्युयोर्क युनिभर्सिटीमा म्याटर्नल–फिटल मेडिसिनकी असिस्टेन्ट प्रोफेसर हुन् । उनले भनेकी छन्, “गर्भावस्था भनेको महिलाको जीवनको सबैभन्दा महत्वपूर्ण क्षण हो जसले उनीहरुको व्यक्तिगत, पारिवारिक र सामुदायिक पहिचानमा पििरवर्तन ल्याउँछ । त्यसैले पनि गर्भवती महिलाका लागि समर्थनका कार्यक्रम आयोजना गर्नुले उनीहरुको मानसिक र शारीरिक अवस्थामा धेरै सुधार ल्याउँछ । ”

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast