शनिबार, आषाढ २७, २०७७
    सार्क

    श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षद्वारा सपथ ग्रहण

    बिहिवार, ५ मंसिर २०७६, -ANI/RSS/Aahakhabar .

    कोलम्बो, श्रीलङ्का, ५ मङ्सिर ।

    श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षले बिहीबार सपथ ग्रहण गर्नुभएको छ ।

    परिवर्तित राजनीतिक सन्दर्भमा देशको नेतृत्वका लागि मार्ग प्रशस्त गर्दै निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार राजीनामा दिनुभएको थियो । बुधबार नै नवनिर्वाचित राष्ट्रपति गोतावाय राजापाक्षले भूतपूर्व राष्ट्रपतिसमेत भइसकेका आफ्नै दाजुलाई प्रधानमन्त्रीका लागि बुधबार नै सिफारिस गर्नुभएको थियो । 

    श्रीलङ्काको इतिहासमा दाजुभाई नै देशको राष्ट्रपति र प्रधानमन्त्री बनेको यो पहिलो घटना हो । नवनियुक्त प्रधानमन्त्रीले सन् २००५ देखि सन् २०१५ सम्म श्रीलङ्काको शक्तिशाली राष्ट्रपतिका रूपमा काम गर्नुभएको थियो । उहाँकै नेतृत्वमा श्रीलङ्कामा तीन दशक लामो गृहयुद्ध अन्त्य भएको थियो ।

    प्रधानमन्त्रीको समर्थन रहेका सजित प्रेमादासाले राष्ट्रपतिका उम्मेदवारको निर्वाचनमा पराजयको केही दिनपछि विक्रमासिङ्घेले राजीनामा दिएपछि नयाँ सरकारको गठन भएको हो ।

    गत शनिबार सम्पन्न निर्वाचनमा राजापाक्षले ६० लाखभन्दा बढी मत ल्याई राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो भने उहाँका प्रतिस्पर्धी प्रेमादासाले करिब १५ लाख मत कम प्राप्त गर्नुभएको थियो । 

    राजापाक्षको नेतृत्वमा सानो कामचलाउ मन्त्रीमण्डलको गठन हुन लागेको पनि स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । नयाँ मन्त्रीमण्डलमा राजापाक्षलाई निर्वाचनमा सघाएका केही नयाँ अनुहार आउने अनुमान गरिएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast