शनिबार, मंसिर २८, २०७६
    राज्य-समाज

    बालुवाटारमा ओली-प्रचण्ड भेट : मन्‍त्रिपरिषद् पुनर्गठनका विषयमा निर्णायक छलफल

    सोमबार, २ मंसिर २०७६, आहाखबर

    काठमाडौँ, २ मङ्सिर

    सोमबार प्रधानमन्‍त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता हुँदैछ । प्रधानमन्‍त्री निवासमा बेलुका हुने भेटवार्तामा मन्‍त्रिपरिषद् पुनर्गठनका विषयमा निर्णायक छलफल हुने बताइएको छ ।

    नेकपा सचिवायल बैठकले मन्‍त्रिपरिषद् पुनर्गठनका लागि सहमति दिएपछि सोमबार नयाँ मन्‍त्रिमण्डलको खाका तयार गर्न दुई अध्यक्ष भेट्न लागेका हुन् । त्यसअघि दुवैतर्फबाट आन्तरिक गृहकार्य गरिएको छ । 

    दुवै अध्यक्षले मन्‍त्री बन्‍नेहरुको सूचीलाई अन्तिम रुप दिएपछि एक दुई दिनमै मन्‍त्रिपरिषद् पुनर्गठन घोषणा हुने संभावना छ । पुनर्गठनमा केही नयाँ अनुहार समावेश हुनेछन् भने केही पुरानैलाई निरन्तरता दिइनेछ ।

    सोमबार बिहान नेकपा अध्यक्ष प्रचण्डले आफ्नो निवासमा पूर्वमाओवादीका नेताहरुसँग परामर्श गरेका थिए । प्रधानमन्‍त्रीको टिममा पनि नयाँ मन्त्रिपरिषद्को खाकाबारे आन्तरिक छलफल भइरहेको छ ।

    नयाँ मन्त्रीका लागि घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रभु साह, पम्फा भुसाल, यज्ञराज सुनुवार, वसन्त नेम्वाङलगायत नेता चर्चामा छन् । 

    स्रोतका अनुसार उद्योगमन्त्री मातृका यादवको ठाउँमा हटाएर उनको स्थानमा प्रभु शाहलाई जिम्मेवारी दिने र महिला बालबालिकामन्त्री थममाया थापालाई हटाएर उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको छ ।

    अन्य मन्त्रीका विषयमा पनि गृहकार्य भइरहेको स्रोतको दाबी छ । नयाँ टीम बनाएर नयाँ ढंगले अघि बढ्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीको नीजि सचिवालय परिवर्तन गरिसकेका छन् ।

     आइतबार बेलुका बसेको पार्टी सचिवालय बैठक प्रधानमन्‍त्री ओलीले नयाँ मन्‍त्रिमण्डलको खाका तयार गर्न आफू लागेको र छिटै घोषणा हुने बताएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast