शुक्रबार, मंसिर २७, २०७६
    राज्य-समाज

    बंगलादेशका राष्ट्रपति आज स्वदेश फर्किंदै, विमानस्थल आधा घण्टा बन्द गरिने

    शुक्रबार, २९ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २९ कात्तिक

    नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (शुक्रबार) स्वदेश फर्किँदै छन् ।

    बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।

    स्वदेश प्रस्थान गर्नुअघि उनले चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्ने भएका छन् ।

    अहिले बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर जाने कार्यक्रम छ ।

    सद्भावना भ्रमणका लागि गत मंगलबार काठमाडौं आएका बंगलादेशका राष्ट्रपति हमिदले बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका थिए।

    भोलिपल्ट उनी पोखरा गएर फेवातालमा डुंगा सयर गरेका थिए। पोखराबाट बिहीबार काठमाडौं फर्किएका उनी नेपालको चारदिने भ्रमण पूरा गरेर आज स्वदेश फर्किने भएका हुन् ।

    राष्ट्रपति हमिद स्वदेश प्रस्थानका लागि आज अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम छ ।

    उनी बंगलादेशको राजधानी ढाका उड्नुअघि शुक्रबार अपराह्न चार बजे ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म अन्य सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast