बुधबार, मंसिर २५, २०७६
    धर्म-संस्कृति

    समा–चकेवा पर्व तराईमधेसमा हर्षोल्लासका साथ सम्पन्न

    मंगलवार, २६ कार्तिक २०७६, आहाखबर

    सप्तरी, २६ कात्तिक

    दाजु, बहिनीबीचको प्रेमको प्रतीकका रूपमा रहेको समा–चकेवा पर्व सप्तरीसहित तराईमधेसमा हर्षोल्लासका साथ मनाइएको छ ।

    समा–चकेवा पर्वको अन्तिम दिन परम्पराअनुसार दिदीबहिनीहरुले समा–चकेवा र सात भाइलाई सेलाउनुका साथै चुगला र वृन्दावनलाई पूर्णरूपमा जलाई दाजुभाइलाई मिठो परिकार खुवाई सम्पन्न भएको हो ।

    समा–चकेवा सेलाउन सोमबार मध्यराति राजविराजस्थित कल्टु दास पोखरी पुग्नुभएकी १६ वर्षीया अनुराधा साहले तराईको मौलिक पर्व भएकाले थारू तथा मधेसी मूलका किशोरीले यो पर्व मनाउने गरेको बताउनुभयो । उहाँसँगै आउनुभएकी ३५ वर्षीया रीता साहले भने खासगरी किशोरी समूहले समा–चकेवा खेल्ने भए पनि पछिल्लो समय घरपरिवारका साथै गाउँले महिलाहरु मिलेर सामूहिकरूपमा समा–चकेवा मनाउने क्रम बढेको बताउनुभयो ।

    कात्तिक शुक्ल द्वितीयाबाट शुरु भएको यो पर्वका अवसरमा सोही दिनदेखि प्रत्येक दिन सूर्योदय अघि नुहाएर शुद्ध खाना खाई पूर्णिमाको राति समा–चकेवा सेलाएपछि आज बिहान कमला नदीमा नुहाउन गएको साहले बताउनुभयो ।

    खासगरी तराई क्षेत्रका सम्पूर्ण भूभागमा हर्षोल्लासका साथ मनाइने पौराणिक लोकपर्व ‘समा–चकेवा’लाई मिथिलाञ्चलका दिदीबहिनीले महापर्वको रूपमा लिन्छन् । ‘समा–चकेवा’ भाई र बहिनीको आपसी प्रेम, स्नेह र सद्भावमा आधारित पर्व रहेको राजविराज– ५ की सोनी मिश्रले बताउनुभयो ।

    पूर्णिमाको तिथि आज बिहानसम्म मात्र रहेको भन्दै कतिपयले हिजो राति समा–चकेवा विसर्जन गरे भने कतिपयले पूर्णिमा मेलापश्चात् आज समा–चकेवा विसर्जन गरेका छन् । दुई सातासम्म मनाउने समा–चकेवाका अवसरमा रातको समयमा गाउँघरमा पुगेर माटोले बनाइएका मूर्तिहरुसहित लोकगीत गाएर पूजा गर्ने र पूर्णिमाको राति विसर्जन गरिने मिश्रले जानकारी दिनुभयो ।

    ‘समा–चकेवा’ लोक पर्वको शुभारम्भ द्वापर युगमा भगवान कृष्णको समयदेखि नै भएको मान्यता छ । राजविराजस्थित भगवती मन्दिरका पुजारी दुर्गानन्द मिश्रका अनुसार यो पर्व भगवान श्रीकृष्णकी छोरी साम्बा र छोरा साम्बको कथामा आधारित छ । कथा प्रसङ्गअनुसार भगवान् श्रीकृष्णकी पत्नी जाम्बवतीतर्फ एक छोरी साम्बा र १० छोरा थिए । जेठा छोरा साम्ब र छोरी साम्बा अत्यन्त मिल्थे ।
    साम्बाको सौन्दर्यमा मोहित भएका द्वारिका बस्ने ‘चूडक’ले एकतर्फी प्रेम गरेको साम्बालाई थाहा थिएन । साम्बाको ‘चारुवाक’ नामक युवकसित गान्धर्व विधिले विवाह सम्पन्न हुन्छ । साम्बालाई प्राप्त गर्न नसकेको चूडकले श्रीकृष्णको दरबारमा पुगी ‘साम्बाले पतिको हत्या गरी परपुरूषसँग वृन्दावनमा विहार गर्दै गरेको’ कुरो गाँसेर पोल लगाउँछ । कुरो सुन्नासाथ आक्रोशित श्रीकृष्णले सत्यताको निरूपण नै नगरी छोरी साम्बालाई पक्षी हुने श्राप दिनुहुन्छ । 
    चारुवाक पत्नी पक्षी भएको देखेर रुँदै कराउँदै श्रीकृष्णको शरणमा पुग्छन् र वास्तविकता बताउँछन् । आफ्नो श्राप आफैँ फिर्ता लिन नमिल्ने बताएपछि चारुवाककै अनुरोधमा उनलाई पनि कृष्णले पक्षी बनाइदिनुहुन्छ । 

    कृष्णलाई आफ्नो निणर्यप्रति पछुतो हुन्छ र चूडकलाई चुगलखोरी गरेवापत् देशनिकालाको सजाय हुन्छ । श्रापबाट बहिनी पक्षी भएको थाहा पाएका दाजु साम्बले समस्त ब्रज क्षेत्रका साध्वीहरूलाई साम्बाको पतिव्रता धर्म डगेको छैन भनी विश्वस्त तुल्याई कात्तिक शुक्ल पञ्चमीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म ११ दिन प्रत्येक दिन साँझमा गोपेश्वर महादेवको मन्दिर परिसरमा गीत र नृत्य गरी भगवान् भोलेनाथलाई प्रसन्न तुल्याएर बहिनीज्वाइँलाई पक्षीयोनीबाट छुट्कारा दिलाएको सम्झनास्वरुप यो पर्व मनाउन थालिएको पुजारी मिश्रले बताउनुभयो ।

    दाजुले गरेको घनघोर तपस्याकै कारण पक्षी योनीबाट साम्बा दम्पतिले मुक्ति पाएको भनी चेलीबेटीले दाजुभाइको सधैँ भलो होस् र चुगला (पोलाहा) को नाश होस् भनी उत्सव मनाउन थालेको जानकारहरुको भनाइ छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast