बिहिवार, मंसिर ५, २०७६
    अावास-निर्माण

    सतर्कता केन्द्रले निर्माण सामग्री परीक्षण प्रयोगशाला स्थापना गर्ने

    शुक्रबार, २२ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २२ कात्तिक

    राष्ट्रिय सतर्कता केन्द्रले एक महिनापछि निर्माण सामग्रीको परीक्षण गर्न प्रयोगशालाको स्थापना गर्ने भएको छ । विभिन्न आयोजनामा प्रयोग हुने सिमेन्ट, बालुवा, गिट्टी र छडको परीक्षण गर्न प्रयोगशाला स्थापना गर्न लागिएको केन्द्रका सचिव डा ऋषिराम शर्माले जानकारी दिनुभयो । 

    अन्य निर्माण सामग्री एक महिनापछि नै परीक्षण गर्न सकिने भए पनि छडको परीक्षणका लागि तीन महिना कुर्नुपर्नेछ । परीक्षणको क्रममा निर्माण सामग्रीको गुणस्तर, आयोजनामा तोकिएको मात्रा अनुसार राखे÷नराखेको परीक्षण गरिने केन्द्रले जनाएको छ । तीनै तहका सरकारले शुरु गरेका धेरै आयोजनामा निर्माण सामग्रीको मात्रा नमिलाउँदा गुणस्तरीय काम नभएको नागरिकको गुनासो छ । प्रयोगशाला बनाउन गत आर्थिक वर्षमा केन्द्रले रु दुई करोडको यन्त्र खरीद गरेको थियो । केही सामग्री भने चारवर्ष अघि नै खरीद गरिएको थियो । चालु आर्थिक वर्षको शुरुमै प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिए पनि प्रयोगशाला जलमग्न भएकाले काम हुन नसकेको केन्द्रले जनाएको छ । 

     एकहप्तामा निर्माण सामग्रीको परीक्षण सकी प्रतिवेदन दिन सकिने जनाइएको छ । केन्द्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेको भवनको भूइँतलामा प्रयोगशाला निर्माण गर्न लागेको हो । केन्द्रकै लागि बनाइएको भवनमा श्रम मन्त्रालय राखेपछि काम गर्न अप्ठ्यारो भएको कर्मचारीको गुनासो छ । केन्द्र हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनको पहिलो र भूइँतलामा सञ्चालन भइरहेको छ । ठाउँ नपुगेर ग्यारेजमा समेत केन्द्रले कार्यालय चलाउनु परेको छ । एउटै कोठामा १० जनासम्म अधिकृत बसेर काम गर्नुपरेको सचिव शर्माले सुनाउनुभयो । 

    केन्द्रमा हाल स्थानीय तहमा अनियमितता भएका उजूरी धेरै पर्न थालेका छन् । सङ्घीय संरचना अनुसार तीन तहको सरकार बनेपनि अनियमितता एवं भ्रष्टाचार हुन लागेका घटनामा निगरानी गर्ने केन्द्रको कार्यालय संरचना विस्तार हुनसकेको छैन । उजूरी परेका विषयमा छानबिन गरी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने काम केन्द्रले गर्दै आएको छ । यसैगरी सुशासन प्रवद्र्धनका लागि पनि केन्द्रले सचेतनामूलक काम गर्दै आएको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति र आयको अनुगमन गर्ने, सरकारी कार्यालयमा हाजिरी, पोशाक, सिट छड्के जस्ता सुधारात्मक काम गर्ने जिम्मेवारी छ । 

    यसैगरी सार्वजनिक निकायबाट हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार सम्बन्धी उजूरी सङ्कलन गर्ने, सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन गरी सुझाव निर्देशन दिने काम पनि केन्द्रको हो । राष्ट्रिय गौरवका आयोजनाको केन्द्रले प्राविधिक परीक्षण पनि गर्दै आएको छ । केन्द्रले सबै आयोजनाको नियमित परीक्षण गर्दै आएको जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast