बिहिवार, मंसिर ५, २०७६
    धर्म-संस्कृति

    मिथिलामा अक्षय नवमीसँगै अमलाको प्रयोग खुला

    बिहिवार, २१ कार्तिक २०७६, आहाखबर
    महोत्तरी, २१ कात्तिक
     
    मिथिला क्षेत्रमा अक्षय नवमी पर्व मनाइएसँगै अमलाको नयाँ फल खानामा प्रयोग गर्न थालिएको छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने कात्तिक शुक्ल नवमी तिथिमा मनाइने अक्षयनवमी पर्व मनाइएसँगै मिथिला क्षेत्रमा अमलाको नयाँ फल खान थालिएको हो । कात्तिक शुक्ल नवमीका अवसरमा बुधबार राति यो पर्व मनाइएपछि अमलाको प्रयोग खुलेको हो । 
     
    मिथिलामा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । यो पर्वमा  घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ । यस पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित साकाहारी खानेकुरा मात्र भोजमा पकाउने खाने परम्परा रहेको छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार बर्दिवास नगरपालिका–२ का कर्मकाण्डी ब्राह्मण महेशकुमार झा बताउनुहुन्छ । 
     
    पर्व विशेषमा खासगरी किशोर र युवा भने वनभोज आयोजन गर्ने गर्छन् । सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिता बढी हुनु सकारात्मक भएको पाका मैथिल बताउँछन् । मैथिल सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउनमा सहयोग हुने जिल्लाकै बलवा नगरपालिकाको बलवा बजारका बासिन्दा शिवनारायण झा बताउनुहुन्छ ।
     
    खानेकुरामा अमलाको नियमित  प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झा बताउनुहुन्छ । मिथिलामा अक्षय नवमीलाई कुष्माण्ड नवमीसमेत भन्ने गरिएको छ । अघि द्वापर युगमा श्रीकृष्णले कात्तिक शुक्ल नवमीकै दिन कुष्माण्डक दैत्यलाई संहार गरेर कंश बध गर्नपूर्व मधुरा, बृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेका जनश्रुति रहेको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता यस क्षेत्रका प्रसिद्ध साहित्यकार महोत्तरीको जलेश्वर नगरपालिकाको बखरीका बासिन्दा पूर्वप्रशासक महेश्वर रायले बाउनुभयो ।
     
    कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने हिन्दू जनविश्वास रहेको छ । अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने हिन्दू मैथिल जनश्रुति छ । इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमी र अमला (धातृ) को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको राय बताउनुहुन्छ । अमला स्वस्थ्य खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले शुरु गरेका मैथिल युवा बताउँछन् । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast