बिहिवार, मंसिर ५, २०७६
    खेल संसार

    नेपालविरुद्ध पहिलो दिन एमसीसीले बनायो ३ सय ११ रन

    बुधबार, २० कार्तिक २०७६, आहाखबर

    काठमाडौं, कात्तिक २०

    नेपाल भ्रमणमा रहेको बेलायती टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले बुधबारदेखि नेपालको सिनियर टोलीसँग तीनदिवसीय खेल खेलिरहेको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गरेको छ ।

    पहिलो दिन खराब प्रकाशका कारण खेल रोकिनुपूर्व एमसीसीले ८६ ओभर खेल्दै ६ विकेट गुमाएर ३११ रन बनाएको छ ।

    खेलमा एमसीसीका विल रोड्सले ७३, विल भान्डेर्सपारले ५३ र मिल्स हाम्मोन्डले ५२ रन बनाए ।

    नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी र शरद भेषावाकरले समान २/२ विकेट लिएका छन् ।

    बिहीबार दोस्रो दिन यासिर अराफातले ३५ तथा एलेक्स थम्पसनले २१ रनबाट एमसीसीको ब्याटिङ लाइन अगाडि बढाउनेछन् ।

    तीनदिवसीय खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रथम श्रेणी अर्थात् ‘फस्ट क्लास’ क्रिकेटको मान्यता दिएको छ ।

    नेपालले १४ वर्षपछि प्रथम श्रेणी खेलिरहेको हो । सन् २००५ को मार्चमा युएईसित कीर्तिपुर मैदानमा अन्तरमहादेशीय कप खेलेयता नेपालले प्रथम श्रेणीको क्रिकेट खेल्न पाएको थिएन ।

    हरेक दिन बढीमा ९६ ओभरमा खेल हुने फस्ट क्लास क्रिकेटमा एक टिमले दुई इनिङ्ससम्म ब्याटिङ गर्न पाउँछन् ।

    नेपाल भ्रमणकाक्रममा एमसीसीले एकदिवसीयमा नेपाली राष्ट्रिय टिमसँग ५ विकेटको हार व्यहोरेको थियो । तीन दिवसीयपछि एउटा ट्वेन्टी–२० खेल हुनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast