बिहिवार, मंसिर ५, २०७६
    राज्य-समाज

    मुलुक विधिको शासनमा अघि बढ्दै छ : अध्यक्ष तिमिल्सिना

    बुधबार, २० कार्तिक २०७६, आहाखबर

    पर्वत, २० कात्तिक

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुक विधिको शासनबाट अघि बढ्दै गएको बताउनुभएको छ ।  पर्वतको ‘लाइफलाइन’का रुपमा रहेको लुङ्खुदेउराली–हुवास सडक कालोपत्र निर्माण कार्यको आज शिलान्यास गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा तीनै तहका सरकार बनेपछि संविधानको कार्यान्वयनसमेत प्रभावकारी बनेको बताउँदै राज्यका सबै संयन्त्रहरु संविधानप्रदत्त तवरबाट अघि बढेको बताउनुभयो । 

    “मुलुक विधिमा चल्नु भनेकै समृद्धिको मुख्य आधार हो”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो । उहाँले संविधानभन्दा कोही पनि माथि हुन नसक्ने बताउँनै कानूनविपरीतका कार्य गर्ने एक दिन कारवाहीको दायरामा आएरै छाड्ने बताउनुभयो । 

    अध्यक्ष तिमिल्सिनाले वर्तमान सरकारले छोटो समयमै दूरगामी प्रभाव पार्ने काम गरिरहेको बताउँदै सरकारलाई काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्नेमा जोड दिनुभयो । अबको समय भनेको पूर्वाधार निर्माणको भएकाले शुरुआत भएका ठूला योजनालाई सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । 

    उहाँले पर्वतमा नयाँ सडक खोल्नुपर्ने आवश्यकता नरहेको बताउँदै पुराना सडकलाई स्तरोन्नति गर्दै जानुपर्ने बताउनुभयो । उहाँले अबको पाँच वर्षभित्रमा पर्वतका सबै वडासम्म पक्की बाटोको पहुँच पुग्ने बताउँदै यसका लागि आफूले पनि पहल गर्ने बताउनुभयो । 

    कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रको विकासविना मुलुकको समृद्धि हुन नसक्ने बताउनुभयो । शहरबजारको विकास र विस्तारबाट मात्र समृद्धि नआउने बताउँदै गाउँकै विकास गरेर नागरिकलाई गाउँमै बस्ने वातावरण सिर्जना गरेमा मात्र नेपालीको जीवनस्तरमा समृद्धि आउने बताउनुभयो । 

    उहाँले विगतमा कालापानी भनेर चिनिने पर्वतका दक्षिण क्षेत्रमा अहिले विकासको लहर छाएको बताउँदै अबको पाँच वर्षभित्रमा सबैभन्दा बढी विकास भएको क्षेत्रका रुपमा देखिने दाबी गर्नुभयो । 
     
    लुङ्खु–हुवास सडक १४ दशमलव ९८ किलोमिटर रहेको छ । रु ३६ करोड ९६ लाख ९३ हजारको लागतमा निर्माण हुने उक्त सडक दुई वर्षभित्रमा सम्पन्न हुने भएको छ । विसं २०७८ कात्तिक १४ गतेसम्म सडकको सम्झौता अवधि रहेको छ । सडक निर्माणको जिम्मा श्री हिमदुङ एण्ड थोकर प्रालीले पाएको छ । यो सडक कालोपत्र भएपछि पर्वतको सुदूर दक्षिण पर्वतको हुवासलाई कालोपत्र सडकले जोड्नेछ । जिल्लाको पैँयु र विहादी गाउँपालिकासम्म कालोपत्र सडकमा यात्रा गर्न सकिनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast