आईतवार, मंसिर १, २०७६
    सावधान

    अमेरिकाले भनेजस्तै नेपाल आतंककारीको अखडा बनेकै हो ? अब के गर्ने ?

    बुधबार, २० कार्तिक २०७६, आहा खबर टिप्पणी । .

    कार्तिक २०, काठमाडौं । 

    विश्वको सर्वसक्तिशम्पन्न देश संयुक्त राज्य अमेरिकाको हालै प्रकाशित आतङ्कवादसम्बन्धी वार्षिक प्रतिवेदनले नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि चलखेल गर्ने एउटा बिन्दुकारुपमा रहँदै आएको तथा भविष्यमा समेत यस्तै रहिरहन सक्ने भन्दै खतराको इशारा गरेको छ । 

    त्यहाँको विदेश मन्त्रालयले गत साताको अन्तमा सार्वजनिक गरेको 'कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म-२०१८' मा भारत र चीनकोबीचमा रहेको एउटा सानो देश नेपालबारे समेत प्रष्टसँग चर्चा गरिएको भेट्न सकिन्छ ।

    उक्त प्रतिवेदनका अनुशार इण्डियन मुजाहिदीन (आईएम) ले विशेष गरी भारतको बिरुद्धमा विभिन्न आतंककारी घटनाहरु घटाउनका लागि नेपाललाई आफ्नो सबैभन्दा ठूलो अखडा बनाएको छ । त्यस्तै, आतंककारी संगठन आइएमका साथमा लश्कर ए तोयबा, जैश ए मोहम्मद तथा हरकत उल लगायतका बिभिन्न इस्लामी संगठनको समेत नेपालमा सक्रियता बढ्न सक्ने औंल्याइएको छ ।  

     

    के छ रिपोर्टमा ?

    रिपोर्टमा भनिएको छ की आइएमको पहिलो उद्देश्य भारतमा आतंकी घटना बढाउनु नै हो र त्यसैका लागि उसले छिमेकी देश नेपालमा आफ्नो केन्द्र स्थापना बनाएको छ । यस कार्यका लागि आइएमलाई पाकिस्तान सहित पश्चिम एशियाली देशहरुबाट फण्ड मिलिरहेको छ । 

    त्यस्तै, प्रतिवेदनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएका घटनालाई आन्तरिक आतङ्कवादी गतिविधिको रूपमा प्रस्तुत गरिएको छ ।

    त्यस्तै, प्रतिवेदनमा सन् २०१८ मा नेपालमा कुनै अन्तर्राष्ट्रिय आतङ्कवादी गतिविधि नभए पनि आन्तरिक आतङ्कवादका घटनाहरू भने भएको जनाइएको छ।

    प्रतिवेदनमा नेपालबारे उल्लेख गरिएकाका अन्य मुख्य बुँदामा विप्लव समूहका गतिविधिमाथि नेपालका सुरक्षा निकायहरूले निगरानी राख्ने क्रम जारी राखेको तर त्यो प्रयाप्त नभएको समेत जनाइएको छ । 

     

    विमानस्थलको सुरक्षामाथि शंका

    त्यसैगरी खुला सिमाना र काठमाण्डुस्थित देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा व्यवस्थाका कारण नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र यही अवस्था रहे पछिसम्म पनि त्यो रहिरहन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । 

    नेपालका विमानस्थलमा सुरक्षा व्यवस्था कमजोर र अपर्याप्त भएकाले त्यसको फाइदा उठाउँदै इन्डीअन मुजाहिद्दीन नामक सङ्गठनले नेपालमा पनि आफ्ना गतिविधि विस्तार गरेको र उसका गतिविधि सञ्चालनका लागि नेपाल अहिले सबैभन्दा ठूलो अखडा बनेको दाबी गरिएको छ । 

     

    के भन्छ नेपालपक्ष ?
     

    नेपाली अधिकारीहरूले हालै प्रकाशित उक्त अमेरिकी प्रतिवेदनबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया भने जनाएका छैनन् ।

     

    नेपाल सरकारले के गर्नुपर्छ ?
     

    अमेरिकाले जारी गरेको उक्त रिपोर्टका आधारमा नेपाल विश्वभर कलंकीत बन्दै जाने संभावना भएकाले सरकारले यथासीघ्र आफ्नो स्पष्टीकरण दिनु अपरिहार्य हुन्छ ।

    भर्खरै मात्रै राजनीतिक स्थायित्वको बाटोमा लम्किरहेको नेपाल जस्तो कम आय भएको मुलुकलाई यस प्रकारका रिपार्टले नकारात्मक असर पार्नेमा कुनै शंका छैन । 

    त्यस्तै, भ्रमण वर्षको संघारमा रहेको नेपाललाई यस प्रकारका नकारात्मक सूचनाले नराम्ररी प्रभावित पार्ने कुरालाई मनन् गर्दै यस विषयमा आफ्नो स्पष्टीकरण पेश गर्न वा त्यसको खण्डन गर्न वा रिपोर्टमा भनिएजस्तै नेपाल आतंककारीको अखडा बन्न बाट जोगाउन कत्ति पनि बिलम्ब गर्नु हुँदैन । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast