बुधबार, कार्तिक २७, २०७६
    आर्थिक खबर

    आर्थिक कूटनीतिमा लाग्न परिसङ्घको सुझाव

    मंगलवार, १९ कार्तिक २०७६, आहाखबर
    काठमाडौँ, १९ कात्तिक
     
    नेपाल उद्योग परिसङ्घले अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि सहकार्य बढाउनुपर्नेमा सम्बन्धित देशमा कार्यभार सम्हाल्न जान लाग्नुभएका नेपाली राजदूतसँग आग्रह गरेको छ । 
     
    अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल र स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासँग कार्यभार सम्हाल्न जानुअघि आज अन्तक्र्रिया गर्दै परिसङ्घले सफल कार्यकालको शुभकामनासमेत दिएको हो । 
     
    सो अवसरमा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले आफ्नो संस्थाले आर्थिक कूटनीतिलाई उच्च महत्व दिँदै आएको र देशको आर्थिक विकासको मेरुदण्ड मानिने लगानी तथा पर्यटन प्रवद्र्धनका लागि आर्थिक कूटनीतिमा अब्बल रहनुपर्नेमा जोड दिनुभयो । 
     
    नेपाललाई अन्तरराष्ट्रिय लगानी गन्तव्यका रूपमा स्थापित गर्ने तथा लगानीका प्रमुख क्षेत्र पूर्वाधार, जलविद्युत्, पर्यटन, आधुनिक कृषि तथा सञ्चार प्रविधिलगायतका क्षेत्रमा लगानी तथा साझेदारी बढाउन सम्बन्धित देशको सरकार र लगानीकर्तासँग सम्बन्ध अझ विस्तार गर्न राजदूतावासको थप सक्रियता रहेको उहाँको भनाइ थियो । 
     
    अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले व्यावसायिक क्षेत्र तथा सङ्घसंस्थाबीच संस्थागत सम्बन्ध विस्तार, लगानीकर्ताको भ्रमण आदानप्रदान तथा प्राविधिक शिक्षामा सहकार्य बढाएर दक्ष जनशक्ति निर्माणमा भूमिका खेल्ने कुरालाई प्राथमिकतामा राखेको बताउनुभयो । 
     
    स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले पनि स्पेनबाट नेपाल आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहेको र यसलाई बढाउन थप पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक  सम्बन्ध विस्तार गर्न ध्यान दिने उल्लेख गर्नुभएको परिसङ्घले जनाएको छ । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast