शनिबार, मंसिर ७, २०७६
    धर्म-संस्कृति

    पाँचखालमा लिच्छविकालीन र मध्यकालीन सम्पदा

    आईतवार, १७ कार्तिक २०७६, आहाखबर

    काभ्रेपलाञ्चोक, १७ कात्तिक

    खोज तथा अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन भएको पुष्टि भएको छ । गत जेठमा पाँचखाल नगरपालिकाको श्रीरामपाटीस्थित खेतमा उत्खनन्का क्रममा भेटिएका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको प्रतिवेदन पुरातत्व विभागले तयार पारेको छ । 

    उत्खनन्मा सहभागी पुरातत्व विभागका अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आाचार्यद्वारा तयार पारिएको प्रतिवेदनमा साविक होक्से गाविस–२ माल्टारमा विभिन्न व्यक्तिको खेतमा भेटिएको प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन भएको उल्लेख  छ । वरिष्ठ पुरातत्वविद् आचार्यले उत्खनन्का क्रममा भेटिएको अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको बताउनुभयो । श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ क्षेत्रमा उत्खनन् गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाइन भेटिएको थियो । “उत्खनन् क्षेत्रको संरक्षण र अवैध उत्खनन् रोक्नु आवश्यक छ”, आचार्यले भन्नुभयो ।  

    पाँचखाल नपा–७ श्रीरामपाटीमा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री रहेको र उत्खनन् गर्न स्थानीयवासीले नै माग गरेपछि जेठमा पुरातत्व विभागको टोलीले दुई साता उक्त स्थानको सम्पदा अध्ययन एवं उत्खनन् गरेको थियो । पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इन्चको ढुङ्गाको गारो तथा बाहिरी भागमा पर्खाल रहेको संरचना, माटाका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्गाको खल, शिव लिङ्ग, ढुङ्गेधारा, रानीपोखरी भनिएको स्थानमा जमीनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप र इँटा भेटिएको थियो । पाँचखाल नगर क्षेत्रमा स्थानीय बुढापाकाले मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको, खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानाङ्क), घरको जग तथा भाँडाका टुक्रा फेला परेको  बताउँदै आएका थिए ।  

    यस्तै पाँचखाल नपा–६ महाङ्काल मन्दिरमा गत वर्ष सानो सिक्का (जाभा) भेटिएको थियो । उक्त चाँदीको मुद्रा विश्वकै सानो मानिएको छ भने पाँचखाल नपा–६ मा सम्पदा अध्ययनका क्रममा भेटिएको सिक्का पनि नेपालकै पुरानो सिक्का मानिएको छ । उक्त सिक्काको एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र  छ । पुरातत्व विज्ञ आचार्यका अनुसार भोगिनी ‘पाली’ भाषा हो । उहाँका अनुसार भेटिएका प्रमाण लिच्छवीकालीन पाँचौँ, छैठौँ, सातौँ र आठौँ शताब्दीका हुन् ।

    असोजमा पनि खोज अनुसन्धानकै क्रममा पाँचखाल नगरपालिका–१३ तेमालबेँँसीमा प्राचीन किराँतकालीन स्तम्भ फेला परेको थियो । काभ्रेपलाञ्चोकमा पहिलोपटक किराँतकालीन अवशेष (स्तम्भ) फेला परेको बताइएको छ । असोज दोस्रो साता भारतीय पुरातत्व विभागका दुई खोजकर्ता सम्मिलित पाँच सदस्यीय टोलीले खोज अनुसन्धानका क्रममा भेटिएको उक्त स्तम्भ किराँतकालीन रहेको पाँचखाल उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिका सदस्य श्रीकृष्ण धिमालले बताउनुभयो । स्तम्भ पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीस्थित सुनकोशी नदी तथा झिकू खोलाको दोभानमा भेटिएको हो । विज्ञका अनुसार स्तम्भमा किराँत धर्मालम्बीले पूजा गर्दा बनाउने चित्रको आकृति छ । धार्मिकग्रन्थमा उल्लेख भएअनुसार स्तम्भ भेटिएको स्थान सुनकोशी नदी उत्पत्तिसँगै कौशिक ऋषिले तपस्या गरेको स्थान सुनकोशी नदी र झिकूखोलाको दोभान तेमालबेँसी नै रहेको बताइन्छ । उक्त स्थानमा थप किराँतकालीन सम्पदा एवं सामग्री भेटिनसक्ने भएकाले पुरातत्व विभागका विज्ञ टोलीको सहभागितामा थप अनुसन्धान गरिने धिमालले बताउनुभयो । पाँचखालवासीले सम्वत् ४२५ मा मानदेव प्रथमको शासनकालमा पाँचखाल नपा–९ पलाञ्चोकमा स्थापित पलाञ्चोक भगवती मन्दिर रहेकाले उक्त क्षेत्रको खोज अनुसन्धान गरी संरक्षणको माग गरेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast