आईतवार, मंसिर १, २०७६
    खेल संसार

    एमसीसीद्वारा नेपालको यु–१९ क्रिकेट टिम ३८ रनले पराजित

    आईतवार, १७ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, कात्तिक १७

    नेपाल भ्रमणमा रहेको विश्वकै सबैभन्दा पुरानो मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले पहिलो खेलमा नेपालको १९ वर्षमुनिको राष्ट्रिय टिममाथि जित हासिल गरेको छ ।

    आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल ३८ रनले पराजित भएको हो ।

    खेलमा ३३५ रनको फराकिलो चुनौती पछ्याएको नेपालले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा २९६ रन बनायो ।

    विकेटकिपर ब्याट्सम्यान हरिबहादुर चौहानले ५२ तथा कप्तान रित गौतमले ४५ रन बनाए । त्यस्तै, अरुण ऐरी र आकाश चन्दले समान ३०/३० रनको योगदान गरे ।

    त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३३४ रन बनाएको थियो ।

    विल रोड्सले ९३ रन बनाएको इनिङ्समा मिल्स हामोन्ड र टम वेट्सलीले समान ६५/६५ रन जोडे ।

    नेपालका लागि सागर ढकाल र शेर मल्लले समान २/२ तथा कुशल मल्ल र आकाश चन्दले समान १/१ विकेट लिए ।

    एमसीसीले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । यही खेलबाटै नेपाली टिमका नयाँ कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो नयाँ इनिङस्को सुरुआत गर्दैछन् ।

    एमसीसीले एकदिवसीयपछि नेपालसँग एउटा ट्वेन्टी–२० र तीनदिवसीय ‘फस्ट क्लास’ क्रिकेट खेल्नेछ ।

    नेपाली क्रिकेट विकासका लागि तयार गरेको ‘लिगेसी टुर’अन्तर्गत् एमसीसी नेपाल आएको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast