बिहिवार, कार्तिक २८, २०७६
    कृषि-उर्जा

    कृषिउपज केन्द्रको डिपिआर तयार

    शुक्रबार, १५ कार्तिक २०७६, आहाखबर
    (सांकेतिक तस्बिर)
    बुटवल, १५ कात्तिक
     
    रुपन्देहीको सेमलारमा सैनामैना नगरपालिकासमेतलाई समेटेर बन्न लागेको आधुनिक कृषिउपज थोक बजार प्रवद्र्धन केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।
     
    बुटवल उपमहानगरपालिका–१६ र सैनामैना नगरपालिका–१ को क्षेत्रमा पर्ने डहरगाउँ र कर्साघाट क्षेत्रमा रहेको ३० बिघा क्षेत्रफलमा आधुनिक कृषि केन्द्र बन्ने भएको हो । उक्त कृषि प्रवद्र्धन केन्द्र निर्माणका लागि रु दुई अर्ब चार करोड ४३ लाख लागत अनुमान गरिएको छ । सो केन्द्रबाट कृषिउपजको सङ्कलन, भण्डारण, प्रशोधन र बिक्री वितरणका साथै एग्रोटुरिज्मको समेत प्रवद्र्धन हुनेछ । 
    सङ्घीय सरकारअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रले छ महीना लगाएर विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको हो । सोलाई सङ्घीय सरकारको विभागीय मन्त्रालयले मेगा प्रोजेक्टका रुपमा लिँदै सोहीअनुरुप लगानीका स्रोत खोज्ने बताएको छ । 
     
    प्रस्तावित आधुनिक कृषिउपज थोक बजार प्रवद्र्धन केन्द्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सँगै प्रारम्भिक चरणको अध्ययन पूरा भएपछि लगानीका स्रोतको खोजी तीव्र पारिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहका साथै निजी तथा सहकारी क्षेत्रको समेत सहकार्यमा लगानी गर्ने वातावरण बनाइने जानकारी दिनुभयो ।
     
    प्रमुख सुवेदीको नेतृत्वमा सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्की, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख तथा सहसचिव प्रकाशकुमार सञ्जेल, उक्त क्षेत्रमा पर्ने वडाका अध्यक्षसहित जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवाले संयुक्तरुपमा प्रस्तावित क्षेत्रको अनुगमन गर्दै मेगाप्रोजेक्टलाई सफल बनाउन सबैले सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।
     
    प्रतिवेदनअनुसार बजारको संरचना बनाउन रु एक अर्ब ६५ करोड लगाइने छ । त्यसमा विभिन्न ३४ ब्लक निर्माण गरिने छ । विभिन्न छ गोदाम घर बन्नेछन् । केन्द्रभित्रै अस्पताल, गेष्ट हाउस, शौचालय, धर्मकाँटा, क्वारेन्टाइन चेकपोष्टदेखि थोक र खुद्रा सामानका अलग–अलग सटर बन्नेछन् ।
     
    एक लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम रहनेछ भने ५० हजार टन क्षमताको तरकारी, पशुपक्षी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर बन्ने छ । यसबाहेक खाद्य, तरकारी, फलफूल राख्न शीतभण्डार गृह, तिनको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, बायोग्यास उत्पादन केन्द्र, फोहर प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिने बताइएको छ । पशुजन्य बिक्रीका लागि छुट्टै क्वारेन्टाइन भवन बन्ने छ । तीन वटा जीउँदो माछा बिक्री केन्द्र बन्ने  र एक सय मेट्रिक टन जोख्न सक्ने दुई धर्मकाँटा राखिने बताइएको छ । 
     
    केन्द्रमा किसानले उत्पादन गरेका कृषि र पशुपक्षीसम्बन्धी सम्पूर्ण उत्पादनको खरीद बिक्रीको व्यवस्था मिलाइनेछ । उत्पादित कृषिउपजको बजार मूल्य कम भएको समयमा गोदाम घरमा भण्डारण गरिनेछ । बजार मूल्य वृद्धि हँदा किसानले आफैँ गोदामबाट बाहिर निकालेर व्यापारीलाई बिक्री गर्न सक्ने कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख तथा सहसचिव प्रकाशकुमार सञ्जेलले बताउनुभयो । उहाँका अनुसार  बजार, गोदाम, प्रशोधन केन्द्र सहकारीमा आधारित हुनेछन् । 
     
    बजारमा पस्ने र निस्कने तीनवटा आधुनिक र स्मार्टद्वार रहनेछन् । बुटवलको तामनगरबाट पस्ने र सैनामैनाको वनकट्टाबाट निस्कने दुई लेनका सडक बनाइने छन् । केन्द्रदेखि बुटवलको चक्रपथ र सैनामैनाको चक्रपथसँग केन्द्रमा आउजाउ गर्ने सडकलाई जोडिने छ । उक्त सडक निर्माणका लागि रु ४२ करोड आवश्यक पर्ने बताइएको छ । डिपिआरलगत्तै चालू आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्याङ्कन गरिने छ । उक्त काम छ महिनाभित्र सकी चालू आर्थिक वर्षमै निर्माण प्रक्रिया थाल्ने योजना रहेको प्रमुख सञ्जेलले बताउनुभयो । 
     
    डिपिआरसँगै पाँच वर्षमा निर्माण सक्ने गरी पञ्चवर्षीय गुरुयोजनासमेत निर्माण गरिएको छ । यसमा सङ्घीय सरकार, प्रदेश र स्थानीय तहले लगानी गर्ने प्रस्ताव गरिएको छ । केही समयअघि भएको लगानी सम्मेलनमा नेदरल्याण्ड सरकारले कृषि क्षेत्रमा रु १६ अर्ब लगानी गर्ने प्रस्ताव गरेको थियो । 
     
    यो मेगा प्रोजेक्टमा नेकपा महासचिव तथा पूर्वअर्थमन्त्री एवं रुपन्देही–२ का सांसद विष्णुप्रसाद पौडेलको विशेष चासो छ । सैनामैनाका प्रमुख कार्कीले किसानले लागतअनुसारको मूल्य लिन र उपभोक्ताले सुलभ मूल्यमा कृषिउपज खरीद गर्न पनि पाउनुका साथै एग्रो टुरिज्मको समेत प्रवद्र्धन हुने विश्वास गरिएको बताउनुभयो । बुटवल उपमहानगरका प्रवक्ता तथा केन्द्र बन्ने वडाका अध्यक्ष रामप्रसाद रेग्मीले नमूना कृषिउपज केन्द्रको निर्माणले यसक्षेत्रको मुहार फेरिने बताउनुभयो ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast