आईतवार, मंसिर १, २०७६
    सावधान

    सांसद गौतमको निवासबाट लाखौँका गरगहना चोरी

    शुक्रबार, १५ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १५ कात्तिक 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको कोठामा चोरी भएको छ। नयाँबानेश्वर क्षेत्रमा रहेको देविनगरस्थित सांसाद गौतमको कोठाबाट नगद तथा गरगहना चोरी भएको हो।

    सांसद गौतम काठमाडौ महानगरपालिका वडानम्बर १० देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । उनी संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । सूचनाविभाग नजिकै सांसद गौतम बस्ने घरमा बिहीबार दिउँसो ३ बजेदेखि ४ बजेको समयमा चोरी भएको प्रहरीले जनाएको छ । घरको ढोका फोरेर कोठाभित्र रहेको नगद तथा गरगहना चोरी भएको सांसद गौतमले बताए ।

    उनका अनुसार २ तोला ५ आना बराबरका सुनका गहना (६ आनाको औठी, ५ आनाको टप, ५ आनाको तिलहरी र १ तोलाको मंगलसुत्र ) चोरी भएको छ । त्यस्तै चाँदीको २१ तोलाको थाली, २.५ तोलाको दियो तथा नगद एकलाख १५ हजार गरी ३ लाख १९ हजार रुपैयाँ बराबर चोरी भएको छ ।

    सांसद गौतमको घर चोरी भएपछि बिहीबारै महानगरीय प्रहरी बृत्त तीनकुने र नेपाल प्रहरीको सिआइवी टोली घटनास्थल पुगेर मुचुल्का तयार पारेर आवाश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । 

    बृत्तका प्रमुख डिएसपी दुर्गाराज गौतमले घटनाबारे प्रहरीले आवाश्यक अनुसन्धान थालिसकेको भन्दै चोर पत्ता लगाएरै छाड्ने दावी गरे । यता ,सांसद गौतमले तत्काल अनुसन्धान गरी चोर पहिचान गर्नुपर्ने भन्दै शान्ति सुरक्षा थप मजबुत पार्न सुझाव दिए । उपत्यकामा दिनदहाडै त्यसमाथि सांसदकै कोठा चोरी हुनुले उपत्यकाको शान्ति सुरक्षामाथि  प्रश्न उठेको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast