आईतवार, मंसिर १, २०७६
    सावधान

    घटना लुकाउन शव गाडेको आरोपमा बुबा–छोरा पक्राउ

    बुधबार, १३ कार्तिक २०७६, आहाखबर

    सप्तरी, १३ कात्तिक

    बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर मृत्यु भएको घटना लुकाउन शव गाडेको आरोपमा बुबा–छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी घटनामा संलग्न भएको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिका–५ का ४५ वर्षीय श्रीलाल सरदार र उनका कान्छा छोरा १९ वर्षीय विजयलाई पक्राउ गरेको जनाएको छ ।

    श्रीलाल, उनका छोरा र गाउँकै केही युवाले बँदेल मार्न कात्तिक १ गते राति विद्युतीय धराप थापेका थिए । बँदेल मार्न भनी घरबाट लगिएका कञ्चनरुप–५ पिप्रा टोलका २३ वर्षीय अजयकुमार मुखियाको सोही धरापमा परेर मृत्यु भएपछि उनकै साथीले मुखियाको शव नजीकैको त्रियुगा नदीको किनारमा लगेर गाडेका थिए ।

    मृतकका श्रीमती मीनाबाट श्रीलाल र गाउँकै बबरी भनिने रमेश सरदारसँग गएपछि अजय फर्केर घर नआएको जानकारी प्रहरीले पाएको थियो । प्रहरीले मोबाइल लोकेशन ट्र्याक गरी श्रीलाललाई उदयपुरको कटारीबाट पक्राउ गरेको जनायो । उनैबाट १३ दिनदेखि बेपत्ता मुखियाको मृत्यु बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर भएको रहस्य पत्ता लागेको हो ।

    उनको शव गाडिएको स्थानमा फेला नपरेपछि श्रीलालको छोरा विजयलाई सोधपुछ गर्दा गाडिएको स्थानबाट निकालेर कञ्चनरुप र सप्तकोशी नगरपालिकाको सीमा कमलदहस्थित त्रियुगा नदी किनारमा लगेर गाडिएको पत्ता लागेको छ । श्रीलाल पक्राउ परेलगत्तै प्रहरीले शव फेला पार्न नसकोस् भनेर विजयसहित तीन जना मिलेर शव गाडेको स्थानबाट निकालेर अन्यत्र गाडेका थिए । 

    प्रहरीले शव निकाली शवपरीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । घटना अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले मुखियाको शव नचिनियोस् भनी अनुहारमा पेट्रोल छर्किएर आगोले जलाइएको र शव नभेटियोस् भनी लुकाउन हरसम्भव प्रयास भएको बताउनुभयो । पासोमा परी घाइते मुखियालाई उपचार नगरी हत्या गरी शव लुकाउन खोजेको आरोप लगाउँदै मृतकका बुबा जनक मुखियाले शवको अनुहार जलाइएको तथा हात र पिठ्यूँ काटिएको अवस्थामा फेला परेकाले हत्या गरिएको दाबी गर्नुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast