शुक्रबार, मंसिर ६, २०७६
    बिदेश

    श्रीलंकाको चुनावमा २ लाखभन्दा बढी कर्मचारी परिचालन गरिँदै

    मंगलवार, १२ कार्तिक २०७६, आहाखबर

    श्रीलंका, १२ कात्तिक 

    श्रीलंकाको राष्ट्रपति निर्वाचनका लागि देशका विभिन्न चुनावी मतदान स्थलका लागि दुई लाखभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ ।

    निर्वाचन आयोगका अनुसार जिल्लास्तरीय मतगणना केन्द्रहरुमा ४८ हजारभन्दा बढी कर्मचारी परिचालन हुनेछन् । निर्वाचन मतदान स्थलमा मात्र एक लाखभन्दा बढी कर्मचारी परिचालन गरिएको आयोगका एक अधिकारीले बताए ।

    जिल्लास्तरमा परिचालन हुने निर्वाचन अधिकृतहरुले मतदान स्थलमा खटिने अरु कर्मचारीको संख्याका बारेमा जानकारी लिने कार्य भइरहेको पनि आयोगले जनाएको छ ।

    राष्ट्रपति पदका लागि हाल ३५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारको सूची लामो भएकाले मतपत्र समेत २६ इन्चभन्दा लामो छ । श्रीलंकाको इतिहासमै राष्ट्रपतिका उम्मेदवारका लागि यतिलामो मतपत्र पहिलोपटक प्रयोग हुन लागेको हो ।

    निर्वाचन आयोगले मतपत्र लामो भएकाले मतगणना स्थल पनि ठूलो बनाउनुपर्ने आवश्यकता महसुस गरेको जनाएको छ । आयोगका अनुसार यस पटकको चुनाव महंगो हुने देखिएको छ । 

    यस पटकको चुनावमा करिब एक करोड मतदाता रहेका छन् । चुनावमा वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेना उम्मेदवार बन्नु भएको छैन ।

    श्रीलंकामा आगामी नोभेम्बर १६ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ । यस चुनावमा प्रधानमन्त्री रनिल विक्रमासिंघेको युनाइटेड नेसनल पार्टीका सजिथ प्रेमदासा र श्रीलंका पोदुजाना पेरामुना पार्टीका गोटाबाया राजापाक्षाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast