आईतवार, मंसिर १, २०७६
    आर्थिक खबर

    बंगलादेशका राष्ट्रपति नेपाल आउँदै, यस्ता सम्झौता हुँदै

    सोमबार, ११ कार्तिक २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौँ, ११ कात्तिक

    बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले आगामी कात्तिक २५ देखि २८ गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको मिति केही दिन तलमाथि हुन सक्ने बताएको छ ।

    यसै साता अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरुको सम्मेलनका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीवीच साइडलाइन बैठक भएको थियो । सो बैठकमा पनि राष्ट्रपति हमिदको नेपाल भ्रमणबारे छलफल भएको थियो ।

    बंगलादेशकी प्रधानमन्त्री हसिनाले राष्ट्रपति हमिदको नेपाल भ्रमणका क्रममा दुई देशबीचको ‘प्राथमिकतायुक्त व्यापार सम्झौता’ लाई पूर्णता दिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् ।

    समाचारमा जनाइएअनुसार दुई देशका प्रधानमन्त्रीको छलफलपछि पत्रकारहरुसँग बोल्दै बंगलादेशका विदेश मन्त्री शाहिदुल हकले दुवै प्रधानमन्त्रीहरुले ‘बीबीआईएन मोटर भेइकल एगि्रमेन्ट’लाई तत्काल कार्यान्वयनमा ल्याउने तत्परता व्यक्त गरेका छन् ।

    बीबीआईएन अन्तरगत चारदेशहरु, बंगलादेश, भुटान, इण्डिया र नेपाल छन् । यी देशहरुवीच अन्तरदेशीय यातायात सञ्चालनका लागि यसअघि नै मोटर भेइकल एगि्रमेन्ट भइसकेको छ । तर, यसको कार्यान्वयनमा भुटानले गृहकार्य गर्नुपर्ने बताएकाले ढिलाइ भइरहेको छ ।

    राष्ट्रपति हमिदको नेपाल भ्रमणका बेला त्रिदेशीय सरोकार विषयहरुका साथै दुईदेशीय व्यापारसम्बन्धी विषयमा पनि छलफल हुने परराष्ट्र स्रोतको भनाइ छ ।

    पछिल्लो समयमा माथिल्लो कर्णालीबाट उत्पादन हुने ५०० मेघावाट बिजुली खरीद गर्न बंगलादेशले सहमति जनाइसकेको छ ।

    यसबाहेक बंगलादेशमा मेडिकल साइन्स पढ्न जाने नेपाली विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । यता बंगलादेशबाट मजदुरहरु नेपालका काम गर्न आउने क्रम पनि बढेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast