आईतवार, मंसिर १, २०७६
    आर्थिक खबर

    सांसद कोषको छ करोड विनियोजन

    आईतवार, १० कार्तिक २०७६, आहाखबर

    बाजुरा, १० कात्तिक

    स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु छ करोड बजेट सडक, शिक्षा र सिँचाइमा खर्च गरिने भएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्यको नेतृत्वमा खर्च हुने बजेटमध्ये दुई करोड ३० लाख सडक निर्माणमै छुट्याइएको छ । रु ५० लाख बराबरका ठूला छ योजनामध्ये चार योजना सडक नै परेका छन् । 

    जसमा गौमुल गाउँपालिकाअन्तर्गत घटमुना मानाकोट सडक, जगन्नाथ गाउँपालिकाअन्र्तगत महनकोट हँुदै थारिकाँडा सडक, स्वामिकात्तिक गाउँपालिकाअन्तर्गत सुइजिउँला साप्पाटा र बर्कु अस्पतालदेखि कार्कीवाडा मुक्तिकोट सडक निर्माणमा रु ५०÷५० लाख बजेट विनियोजन गरिएको छ । स्वामिकात्तिक गाउँपालिकामा यो वर्ष दुई ठूला योजनामा रु एक करोड गएको छ ।

    यस्तै बूढीगङ्गा नगरपालिका २ र ३ मा बाटो, चौपाडी तथा गेट निर्माणका लागि रु ५० लाख छुट्याइएको छ भने गौमुल गाउँपालिका–२ को जनज्योति माविको भवन निर्माणका लागि  पनि रु ५० लाख बजेट विनियोजन गरेको छ । गौमुल गाउँपालिकामा विद्यालय भवन, सडक र महादेव आधारभूत विद्यालयको भवनका लागि थप २० लाख गरी रु एक करोड २० लाख बजेट विनियोजन गरिएको छ । 

    नौ स्थानीय तहमध्ये गौमुलमा सबैभन्दा बढी बजेट गएको छ । यस्तै खप्तड छेडेदह गाउँपालिमा रु ५० लाख बजेट गएको छ । घटाल आधारभूत विद्यालय डोगडीमा घेरबारका लागि रु १० लाख, दाब्रेतोलादेखि पिपलगाउँ जय बागेश्वरीसम्मको सडक रु २० लाख, सिमपाटी सिँचाइ आयोजना दानीगाउँ रु १० लाख र मेलमुडा खानेपानी गुदुखातीका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ ।

    त्यस्तै त्रिवेणी नगरपालिका–१ स्थित लोवाढुङ्गा भुगातोला खानेपानी रु १० लाख, ६ नं वडा पिपलतोला भाडवाडा खानेपानी रु १० लाख र धल्पुरी मावितोलीमा रु १० लाख २५ हजार बजेट विनियोजन गरिएको छ । जगगन्नाथ गाउँपालिकामा रु ५० लाख सडकबाहेक तल्लो हुनी सिँचाइ कुलो रु १० लाख, नवजीवन कृषि उपज तथा सङ्कलन केन्द्र गोत्री रु १० लाख र खोचीघाट भुका सिँचाइ कुलो रु २० लाख बजेट विनियोजन गरिएको छ ।
     
    बडिमालिका नगरपालिकाअन्तर्गत त्रिभुवन आधारभूत विद्यालय नुवाकोटमा रु १० लाख, मनागाड विद्युत्नहर निर्माण रु १० लाख, वीरेखोला सिँचाइ आयोजना निर्माण रु १० लाख र गडखेत दैयारा सिँचाइ निर्माण रु १० लाख बजेट विनियोजन गरिएको छ । बूढीगङ्गा नगरपालिकामा ज्येष्ठ नागरिक योग केन्द्र भवन निर्माण १० लाख, सिँगाडा मावि घेरबार रु १० लाख, धुरालसैन मावि भवन निर्माण रु १० लाख र बार्जुगाड विद्युत् आयोजना निर्माण रु १० लाख बजेट विजियोजन गरिएको छ ।

    बूढीनन्दा नगरपालिका माटीखान बयालपाटा तटबन्ध रु १० लाख, स्यालकाँटिया गाउँ पहिरो तटबन्ध रु १० लाख र खुल्मीगाड विद्युत् नहर निर्माण कोटिला रु १० लाख बजेट विनियोजन गरिएको छ । हिमाली गाउँपालिका बिच्छ्या मावि फिल्ड र घेरबार निर्माण रु १० लाख, मदन–आश्रित सामुदायिक भवन निर्माण रु १० लाख र लेख बिच्छ्यादेखि उहिनेडीसम्म घोडेटो बाटो निर्माण रु  १० लाख बजेट विनियोजन गरिएको छ । नौ स्थानीय तहमध्ये हिमाली गाउँपालिका र बूढीनन्दा नगरपालिकामा सबैभन्दा कम रु ३०÷३० लाख बजेट मात्र विनियोजन गरिएको छ भने रु १० लाख बजेट जिल्ला अस्पतालमा ब्लडबैंक स्थापनाका लागि विनियोजन गरिएको छ ।

    ३२ योजनामा रु छ करोड बजेट विनियोजन गरिएको छ । त्यो मध्ये सात लाख ७५ हजार जिल्ला समन्वय समिति प्रशासनिक खर्च छुट्याइएको छ । सडक सञ्जाल विस्तार, शिक्षाको गुणस्तरका लागि संरचना निर्माण र उत्पादनका लागि सिँचाइ आवश्यक ठानेर नै प्राथमिकतामा राखिएको प्रतिनिधिसभा सदस्य लालबहादुर थापाले बताउनुभयो । सङ्घीय सभामा एक निर्वाचन क्षेत्र रहेको बाजुरामा थापा संयोजक रहेको निर्देशक समितिबाट बजेट विनियोजन गरिएको हो ।

    थापासहित नेपाली काङग्रेसबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने बद्री पाण्डे सदस्य र समन्वय अधिकारी तीर्थराज भट्टाराई सदस्यसचिवसहितको समितिले बजेट विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले बताउनुभयो ।  रु छ करोडमध्ये एक करोड ३० लाख रकम बद्री पाण्डेले आफ्नो प्राथमिकतामा विनियोजन गर्नुभएको हो भने बाँकी प्रतिनिधिसभा सदस्य लालबहादुर थापाले आफ्नो प्राथमिकतामा विनियोजन गर्नुभएको छ । बजेट सहमतिका आधारमा विनियोजन गरिएको प्रतिनिधिसभा सदस्यका जिल्ला प्रतिनिधि तुलसीराम रोकायाले जानकारी दिनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast