शनिबार, मंसिर ७, २०७६
    धर्म-संस्कृति

    यमपञ्चकको दोस्रो दिन : बिहान कुकुर पूजा र साँझ लक्ष्मीको पूजा, आज लक्ष्मी जयन्ती समेत

    आईतवार, १० कार्तिक २०७६, आहाखबर

    काठमाडौं, १० कार्तिक । 

    आज कुकुरको समेत पूजा आजा गरेर कुकुर तिहार मनाइँदैछ ।
    यस वर्ष चर्तुदशी तिथि बिहान र दिउँसोदेखि औसी छुने भएकाले साँझ लक्ष्मीको पूजा र बिहान कुकुर तिहार मनाइँदैछ । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरि मनाईँदैछ ।

    यस दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास छ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।

     

    लक्ष्मी पूजा
    आज धनधान्यकी देवी लक्ष्मीको पूजा आरधना गरी लक्ष्मी पूजा पनि मनाईंदै छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
    लक्ष्मीपूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजाकोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ ।

    दीपावली गरिसकेपछि पूजाकोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर लक्ष्मी र धनधान्यको आगमन होस् भनी कामना गर्ने शास्त्रीय विधि छ ।

     

    आज नै लक्ष्मी जयन्ती

    आज नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती परेकाले यस अवसरमा साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

    विसं १९६६ कात्तिक कृष्ण औंसी, लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मिएका थिए । दश वर्षको उमेरबाट साहित्य रचना सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा स्वच्छन्तावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधारका भाव पाइन्छन् । देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

    नेपाली भाषाका कृतिको अन्य भाषामा अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनको महत्वपूर्ण योगदान छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast